१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पश्चिम चितवनको मेघौलीका २ युवक राप्ती नदीमा बेपत्ता



चितवन ।

पश्चिम चितवनको भरतपुर महानगरपालिका २७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर २७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।

उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको यादवले बताए ।

शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् । शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ ।

स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् । तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको सई यादवले जानकारी दिए । उनीहरू अनाधिकृत रुपमा तीजको मौका छोपेर नदीमा पसेको यादवले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८१ शनिबार ००:००  १० : ४४ बजे