३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै



जनकपुरधाम ।

तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् ।

व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् । सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई, त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

यस अवसरमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ । साथै, गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ । यो पर्वको प्रारम्भ प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले गरेको धार्मिक मान्यता छ, जसले चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास स्थापित गरेका थिए ।

धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत मधेशका जिल्लाहरूमा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ । भारतका केही राज्यहरूमा पनि चौठचन्द्र पर्व मनाउने प्रचलन रहेको छ । पर्वको अन्त्यमा चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने परम्परा रहिआएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१ शुक्रबार ००:००  ९ : ०५ बजे