३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

नगरपालिकाद्वारा उप्टहवा क्षेत्रमा संकलित नदीजन्य पदार्थको अनुगमन



वाणगंगा ।

वाणगंगा नगरपालिका, कपिलवस्तुले जीतपुर उप्टहवा क्षेत्रमा संकलित नदीजन्य पदार्थको स्थलगत अनुगमन गरेको छ। श्रृंगिघाट सिंचाई योजना जल उपभोक्ता समितिले नहर सफा गर्दै डम्पिङ गरेको नदीजन्य पदार्थको अनुगमन नगरपालिकाको प्राविधिक टोलीले गरेको हो। खानेपानी टंकीदेखि माथी जीतपुर उप्टहवा क्षेत्रको कुलो सफा गर्दा निस्किएको बालुवा, मिस्कट सामग्रीलाई टोलीले नापजाँच गरेको छ।

नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासी र विक्री रोक्न अनुगमनलाई तीव्र बनाएको हो। नगरपालिकाका राजश्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार, जीतपुर उप्टहवा हुदै नन्दनगर जाने बाटो आसपास संकलित नदीजन्य पदार्थ अन्य व्यक्तिले चोरी निकासी गरी बिक्री गर्न थालेपछि यो कदम उठाइएको हो। अनुगमनपछि संकलित परिमाणलाई लिलामी बडाबडमा लैजाने योजना अघि बढाइएको जानकारी दिएका छन्।

श्रृंगिघाट समितिका अध्यक्ष नहकुल शाहीले वर्षायाममा चुरे क्षेत्रबाट आएको नदीजन्य पदार्थले कुलो भरिएको कारण नहर सफा गरिएको बताए। झण्डा डुंगहवा, जीतपुर उप्टहवा र गजेहडा कुलो आसपास संकलित नदीजन्य पदार्थको नापजाँच गरिसकिएको छ।

स्थलगत अनुगमनमा नगर प्रमुख चक्रपाणी अर्याल, वडा अध्यक्ष संजु कुमार सारु, इलाका प्रहरी कार्यालय पिपराका प्रतिनिधिहरू, नगरपालिकाको राजश्व शाखा, योजना शाखा, प्राविधिक शाखा, श्रृंगिघाट समितिका पदाधिकारीहरू र स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २० भाद्र २०८१ बिहिबार ००:००  ७ : ३६ बजे