३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

बुटवल–गोरुसिङ्गे सडकको भौतिक पूर्वाधारको काम दसैँपछि सुरु हुने



बुटवल ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार अन्तर्गत भौतिक पूर्वाधारको काम दसैँपछि मात्र सुरु हुने भएको छ ।

५० किलोमिटर लम्बाइको उक्त सडक खण्डको पहिलो चरणको काम दसैँपछि ठेकेदार कम्पनीले सुरु गर्ने बुटवल– गोरुसिङ्गे सडक आयोजना, बुटवलका प्रमुख होमबहादुर एसीले बताए ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सनइन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ठेक्का लिएको हो ।

ठेकेदार कम्पनीले अहिले सर्वे, उपकरण राख्ने घरको खोजी लगायतका काम गरिरहेको जनाइएको छ । उक्त सडक अन्तर्गत दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम सुरु गर्न लागिएको हो ।

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् भने १४९ वटा कल्भर्ट र ६ वटा अन्डर पास÷ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ । यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौता भएको छ ।

विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने सम्झौता गरेको छ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुल पनि यही रकममध्येबाट निर्माण हुनेछ ।

७ हजार रुख काट्न तयारी

रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने बुटवल–गोरुसिङ्गे सडकको जङ्गलमा रहेका ७ हजार रुख काट्न वन विभागसँग अनुमति मागिएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन गरेर विभागले ती सात हजार रुख काट्न लाग्ने लागत, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र ५ वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि सडक परियोजनासँग माग गर्नेछ ।

आयोजना प्रमुख एसीका अनुसार ती कामका लागि लाग्ने एकमुस्ट रकम सडक आयोजना कार्यालयले विभागको खातामा राखिदिएपछि रुख काट्न सुरु हुन्छ ।

उनका अनुसार वन विभागले सबै प्रक्रिया पु¥याएर फाइल तयार गर्ने अन्तिम चरणमा छ । काट्नुपर्ने रुखमध्ये धेरैजसो रुपन्देहीको सालझण्डीदेखि कपिलवस्तुको ४ नम्बर चोकसम्म छन् ।

तिनाउमा सिग्नेचर पुल

बहुवर्षीय योजना अनुसार निर्माण हुने सडक खण्डको पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणका लागि ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । त्यसपछि बुटवलको तिनाउ पुललाई विस्थापन गरी सिग्नेचर पुल निर्माण गर्ने योजना छ ।

सिग्नेचर पुल निर्माणका लागि दायाँबायाँ अर्को पुल निर्माण गर्न सम्भव छैन । किनकि हाल रहेको तिनाउ पुलको दुवैतिर धार्मिक स्थल छन् । यस्तै बस्ती पनि बाक्लो भएकाले हाल रहेको पुललाई भत्काएर सिग्नेचर पुल निर्माण गर्नुपर्ने प्रतिवेदन बुझाएको आयोजना प्रमुख एसी बताउँछन् ।

‘हामीले प्रतिवेदन बुझाएका छौँ, तर अहिले सिग्नेचर पुल निर्माणबारे नयाँ केही निर्णय भएको छैन,’ उनले भने, ‘केवल मन्त्रालयले नीतिगत रूपमा छलफलमात्रै चलाएको अवस्था छ । अब केही समयमा निर्णय आउला ।’

तत्कालीन राजा महेन्द्रको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

सडक विस्तारसँगै व्यापार–व्यवसायमा पनि सहज हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङसँग जोडिन्छ ।

रातोपाटीबाट

प्रकाशित मिति : १९ भाद्र २०८१ बुधबार ००:००  १ : ३३ बजे