३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

वाणगंगामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाबारे छलफल



कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिकको लागि मंगलबार आयोजित कार्यक्रममा सरोकारवालाले सल्लाह सुझाव दिएका छन् । कार्यक्रम वाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा भएको थियो भने विपद् समितिका सदस्य सचिव शान्ताराज आचार्यले संचालन गरेका थिए।

विपद् योजनाले आ.व. २०८१।०८२ देखि २०८६।०८७ सम्मका लागि विभिन्न विपद् र जलवायु उत्थानशीलताका उपायहरूलाई समेटेको छ। नगरमा र ११ वटै वडा स्तरमा सरोकारवालाहरूसँगको छलफलपछि यो योजना तयार पारिएको हो। योजनामा विगत ३० वर्षमा भएका विपद्का अवस्थाको अध्ययन र लेखाजोखा गरेर विपद्का जोखिमहरूको विश्लेषण गरिएको थियो।

अध्ययनको क्रममा वडा नं ९ लाई उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको छ भने वडा नं ३, ७ र ११ मध्यम जोखिममा रहेको पाइएको छ। अन्य वडाहरू कम जोखिममा रहेको तथ्यांक पनि प्रस्तुत गरिएको थियो । साथै बाढी डुबान, कटान र पटान, महामारी, हावाहुरी, आगालागी, सर्पको टोकाईका दृष्टिले वडा नं १ देखि ११ सम्म सबै वडाहरू प्रभावित भएको पाइएको छ।

प्रारम्भिक मस्यौदामा विपद् व्यवस्थापन, न्यूनिकरण र पूर्वतयारी कार्यक्रमहरूको लागि आगामी ५ वर्षमा कुल ६५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। नगर प्रमुख अर्यालले नगरपालिकाको विपद् योजना अध्यावधिक गर्ने काम भैरहेकाले, अन्तिम तयारीको लागि विपद् व्यवस्थापन समितिले थप अध्ययन गरी आवश्यक सल्लाह सुझावहरू प्रदान गर्ने बताएका छन्।

युनिसेफ नेपालको प्राविधिक सहयोगमा योजना तयार गरिएको हो र यसले वाणगंगा नगरपालिकालाई विपद् तथा जलवायु उत्थानशीलताका लागि सक्षम र आवश्यक तयारी गर्ने विश्वास गरिएको छ। नगर प्रमुख अर्यालले नगरवासीहरूको सुरक्षाका लागि यो योजना महत्वपूर्ण हुने कुरामा जोड दिएका छन्।

कार्यशालामा सहभागीहरुले नगरपालिकाको विपद् व्यवस्थापन योजनामा आवश्यक सुधार र सुदृढीकरणका लागि विभिन्न सुझावहरू पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा जनप्रतिनिधी, नगरका कर्मचारी, राजनीतिक दलका प्रमुख, संघसंस्था, नागरिक समाज, पत्रकार महासंघ लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१ मंगलबार ००:००  ११ : ०३ बजे