३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुग्यो



काठमाडौँ ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।

योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको छ । परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको हो ।

असार १० सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।

‘उनीहरुको घर कहाँ हो भन्ने बारेमा भने अझै पत्ता लागिसकेको छैन । व्यक्तिमात्र पत्ता लागेको छ । उनीहरुको घर पत्ता लगाउन सकिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो,‘हामी सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर काम गरिरहेका छौं ।’

हालसम्म रुस–युक्रेन युद्धमा रुसी सैनिक बनेर भाग लिएका ७ जना नेपालीको नाम खुले पनि उनीहरुको जिल्ला पत्ता लाग्न सकेको छैन ।

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीको बारेमा सुरुवातमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिएपनि पछिल्लो समय मृत्यु हुनेहरु सबैको नामावली सार्वजनिक गरेको छैन ।

रुस मामिलामा परराष्ट्र मन्त्रालयले कुनै पनि जानकारी दिन छाडेको छ । मस्कोस्थित नेपाली दूतावासले पनि परराष्ट्र मन्त्रालयको निर्देशनपछि नेपालीहरुको सम्बन्धमा सूचना प्रवाह गर्न छाडेको छ । दूतावासका कर्मचारीहरु प्रेससँग सम्पर्कमै आउन चाहदैनन् ।

अर्कोतर्फ रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१ सोमबार ००:००  ४ : २३ बजे