३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पितृ श्रद्धाका लागि गोकर्ण मेलाको तयारी पूरा



काठमाण्डौ ।

हरेक वर्ष भाद्र कृष्ण औँशीका दिन काठमाण्डौको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको तयारी पूरा भएको छ ।

बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थलमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । मेलाका लागि हिजोदेखि नै तयारी गरिएको छ । आज बिहानैदेखि भक्तजन गोकर्णेश्वर महादेव मन्दिर परिसर पुग्ने क्रम शुरू भएको छ ।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । मेलाका लागि सात वटा उपसमिति गठन गरेर तयारी भइरहेको छ ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकैले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । मेला व्यवस्थापन गर्न आजैदेखि दुई सय जना स्वयंसेवक परिचालन गरिएको वडाध्यक्ष महतले बताउनुभयो ।

यस्तै मेलाका लागि भोलि नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक गाडी रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  ४ : ५५ बजे