२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

जापानमा पछिल्लो ६ महिनामा ३७ हजार भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला



एजेन्सी

जापानमा पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका छन् । जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन् । मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् ।

झण्डै ४० प्रतिशतको शव एक दिन भित्रै भेटिएको थियो । तीन हजार तीन सय ९३ जनाको शव एक महिनापछि फेला परेको र एक सय ३० जनाको ज्यानगएकोमा एक वर्षपछि मात्रै थाहा भएको जापानको राष्ट्रिय पुलिस एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानमा बृद्धबृद्धाहरुको सङ्ख्यासँगै घरमा एक्लै बस्ने र एक्लै ज्यान जानेको दर बढिरहेको जापानी प्रहरीको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसङ्ख्या छ । बृद्धावस्थासँगै एक्लोपन गम्भीर समस्याका रुपमा देखा परेको छ ।

जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले देशमा सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने अनुमान् गरेको छ । सन् २०२० को तथ्याङ्कअनुसार जापानमा एक्लै बस्ने जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।

यो सङ्ख्या सन् २०३३ मा ४४ प्रतिशत भन्दा धेरै हुने अनुमान् छ । सन् २०३३ मा जापानमा प्रतिपरिवारमा सदस्य सङ्ख्या औषतमा दुई जना भन्दा कम हुने अनुमान् छ । यसको मुख्य कारण कारण विवाह नगर्नेको सङ्ख्या, जन्मदरमा आएको गिरावट र बृद्धबृद्धाको सङ्ख्या बढ्नु हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१ आइतबार ००:००  १० : ४१ बजे