२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

देशभर एकैपटक हैजा र डेंगुका संक्रमित थपिए



काठमाडौँ ।

यो हप्ता देशभर एक हजारभन्दा बढी डेंगु संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार भदौ भदौ ८ गतेसम्म ५ हजार ११९ जना संक्रमित भएकामा भदौ १५ गते आज सम्म आइपुग्दा ६ हजार ३४७ जना डेंगु संक्रमित पुगेका छन। इडिसिडीको यो विवरण हेर्दा यो हप्ता देशभर एक हजार दुई सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन।

यस्तै डेंगु संक्रमणबाट यो वर्ष हालसम्म ३ जना विरामीको मृत्यु भएको इडिसिडीले जनाएको छ। यस्तै हालसम्म तनहुँ जिल्ला डेंगुको रेड जोनमा परेको छ। डेंगुको हजार सयभन्दा बढी संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्ने गरिन्छ।

यस्तै हाल कास्की, पर्वत, काठमाडौं , चितवन जिल्लामा डेंगु संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ।

इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्। अघिल्लो हप्ता तनहुँमा १ हजार ४५ जना संक्रमित भएकोमा यो हप्ता एक हजार ११६ जना संक्रमित पुगेका छन।

त्यसैगरी अघिल्यो हप्ता काठमाडौंमा ४२१ जना संक्रमित रहेकामा यो हप्ता संक्रमितको संख्या ५८७ जना पुगेको छ।

त्यसैगरी हाल कास्कीमा ६४५, पर्वतमा ५८७ र चितवनमा ५१७ जनामा डेंगु पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगु देखिएको छ। यो वर्ष हालसम्म डेंगुबाट तीनजनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

प्रदेश स्तरमा हेर्दा अहिले सबैभन्दा धेरै डेंगु संक्रमित गण्डकी र बाग्मती प्रदेशमा रहेका छन। हाल गण्डकी प्रदेशमा दुई हजार ९५४, बाग्मती प्रदेशमा एक हजार ६२३, कोशी प्रदेशमा ७९१‚ मधेश प्रदेशमा १००, लुम्बिनी प्रदेशमा ४४४, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३४२ जना डेंगु संक्रमित रहेका छन्।

हैजा संक्रमित ५७ जना पुगे

डेंगु संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। इडिसिडीको विवरणअनुसार हाल हैजाका संक्रमितको संख्या ७५ जना पुगेको छ अघिल्लो हप्ता हैजा संक्रमित ६७ जना थिए।

यो हप्ता रोल्पामा हैजा संक्रमितको थप नयाँ जिल्ला थपिएको हो।

योसँगै यो वर्ष ६ वटा जिल्लामा हैजा संक्रमित भेटिएका छन् तर हैजाका कारण हालसम्म यो वर्ष कसैको मृत्यु भएको छैन। हाल १ जना संक्रमित अस्पतालमा भर्ना भएर उपचार गराइरहेको इडिसिडीले जनाएको छ।

हैजा संक्रमितमध्ये ४० जना पुरुष रहेका छन भने ३५ जना महिला रहेका छन्। उमेरअनुसार चार वर्षभन्दा मुनिका बालबालिका २ जना, देखि १४ वर्षमुनिका १० जना, १५ देखि २४ वर्षमुनिका १६ जना, २५ वर्षदेखि ३४ मुनिका १६ जना, ३५ देखि ४४ मुनिका १२ जना, ४५ देखि ५४ वर्ष मुनिका ११ जना, ५५ देखि ८५ वर्षसम्मका हैजा संक्रमित ८ जना रहेको इडिसिडीले जनाएको छ।

अघिल्लो वर्ष हैजाका विरामी यसरी देखिएको थिएन तर यो वर्ष ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउँदै आएको छ।

डेंगुसँगै यो वर्ष हैजाका विरामी पनि देखा परेका छन्। विगतका वर्षमा हैजा संक्रमण देखिएका ठाउँमा डेंगु संक्रमण कम हुने भए पनि यो वर्ष काठमाडौं उपत्यकामा हैजा र डेंगु सँगसँगै देखिन थालेको छ।

प्रकाशित मिति : १५ भाद्र २०८१ शनिबार ००:००  ३ : ३१ बजे