३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बाणगंगा नगरपालिकामा डेंगी रोग सम्बन्धी सरोकारवालासंग छलफल



कपिलवस्तु ।
बाणगंगा नगरपालिकाले डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालासंग सचेतना कार्यक्रम आयोजना गरेको छ। डेंगी रोगको जोखिम, लक्षण, रोकथाम र नियन्त्रणका उपायहरूबारे जानकारी गराउदै यसको सचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा पिपरा अस्पतालका डाक्टर गणेश क्षेत्रीले डेंगी रोगको देशभरकै पछिल्लो अवस्थाबारे जानकारी दिनुभयो । उहाँले डेंगी रोग के हो ? रोगको स्रोत, संक्रमणको प्रकृति र समुदायस्तरमा अपनाउनुपर्ने सावधानीहरूबारे चर्चा गर्नुभयो। उहाँले एडिस जातको लामखुट्टे बस्ने बास स्थानको खोजी गर्ने र नष्ट गर्ने अभियान प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउनुभयो ।
सोहि क्रममा सहभागीहरुले डेंगीको जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे अन्तरक्रिया गरेका थिए। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गर्दछ। पछिल्लो समय डेंगी रोगका कारण ३ जनाको ज्यान गैसकेको छ भने तनहु जिल्ला बढी प्रभावित देखिन्छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरपालिका भित्रको डेंगी नियन्त्रणको लागि गरिएका र गर्न लागिएका विभिन्न पहलहरूको बारेमा जानकारी गराउनु भएको थियो। जस अनुरुप समुदाय तथा विद्यालय तह र संचार क्षेत्रबाट आम सचेतना फैलाउने गरी अभियान चलाइनेछ ।
वाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले समापन मन्तव्यमा डेंगी नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिँदै, नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वयलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय संघसंस्था तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१ आइतबार ००:००  ९ : ०५ बजे