३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सामाजिक उद्यमशीलतामा सामुहिक अन्तरक्रिया



मायादेवी अनलाइन, जीतपुर ।

सिद्धार्थ समाजिक बिकास केन्द्रको आयोजनामा वाणगंगा ४ कार्यालयमा आयोजना गरिएको सुझाव अन्तर्क्रिया कार्यक्रममा स्थानीय बौद्धिक तथा सामाजिक व्यक्तित्वहरूले प्लास्टिक मुक्त नगर बनाउने, सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने र दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकता दिने जस्ता विषयमा महत्त्वपूर्ण सल्लाह र सुझाव दिएका छन्।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाकी अध्यक्ष सुर्य कुमारी शाहीले संस्थालाई दिगो रूपमा सञ्चालन गर्न सामाजिक उद्यमशीलतालाई आन्तरिक कार्यक्रमको रूपमा विकास गर्ने कुरा बताइन्। उनले वातावरण संरक्षणको साथसाथै आर्थिक र सामाजिक क्षेत्रमा प्रत्यक्ष टेवा पुर्‍याउने भएकाले नगरपालिकाले यस कार्यक्रमलाई आफ्नो मुख्य एजेन्डाको रूपमा लैजानुपर्नेमा जोड दिइन्।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराम आचार्यले प्लास्टिक मुक्त नगरपालिकाको लक्ष्यलाई सामाजिक उद्यमशीलता मार्फत् कागजका झोला बनाउने अभियान सफल बनाउन सकिने बताए। उनले जिल्लाको स्वास्थ्य, शिक्षा, र सामाजिक न्यायको क्षेत्रमा कार्य गर्ने १० वटा पालिकाहरूमा कामलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विशेष गरी, जिल्लाको दक्षिणी क्षेत्रको अवस्था कमजोर भएकोले उक्त क्षेत्रको विकासका लागि कार्यक्रम विस्तार गर्न उनले आग्रह गरे।

वाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरी थारूले नगरले फोहोर मैला व्यवस्थापनमा काम गरिरहेको भन्दै आगामी दिनमा प्लास्टिक मुक्त नगर बनाउने अभियानमा संघरसंस्थासँग समन्वय गरी कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। सो कार्यका लागि यस संस्थाले अगुवाई गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सामाजसेवीहरू मनोज पन्थी, अब्दुल सतार खाँ, बाल कुमारी पन्थ, धनु अधिकारी, द्रोणराज सुवेदी, शंकर पान्डे, बिष्णु न्यौपाने, अर्जुन पोख्रेल, झबिलाल पोख्रेल, राजेन्द्र बिक्रम शाह र दोलक बहादुर पछाइ लगायतका व्यक्तित्वहरूले आफ्नो सल्लाह र सुझाव राखे।

संस्थाका उपाध्यक्ष हरिलाल शर्मा र सचिव दुर्गा अर्यालले कार्यक्रमको दौरानमा संस्थाको प्रगति विवरण र आगामी योजनाहरूको प्रस्तुति गरेका थिए।कार्यक्रमको समापनमा सहभागी सबैले असल समाज र वातावरण सुधारमा सामूहिक प्रयासको आवश्यकतामा जोड दिएका थिए।

सामाजिक उद्धमशिलता अन्तर्गत संस्थाले ४० जनालाई तालिम दिईसकेको , कागजको झोला बनाउने मेसिन खरीद, आधारभुत पुर्बाधार तयारीको काम अघि बढेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१ आइतबार ००:००  ६ : ५१ बजे