३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज भुटानविरुद्ध भिड्दै नेपाल



काठमाडौँ ।

साफ यू-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा आज (आइतबार
) घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ।

समूह एको विजेता नेपाल आज भुटानलाई हराउँदै अपराजित रूपमा फाइनल खेल्न चाहन्छ।

नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन। पछिल्लो समय नियमित प्रशिक्षणमा रहेको भुटानी युवा टोली निकै लयमा छ।

पछिल्लोपटक सन् २०१९ मा घरेलु मैदानमा भएको खेलमा नेपाल भुटानसँग ३–० गोलअन्तरले हराएको थियो। सन् २०१७ मा पनि नेपाली युवा टोलीले भुटानसँगै हारेको थियो।

यसपटक भने नेपाल भुटानको चुनौती पन्छाउँदै उपाधिको नजिक पुग्ने योजनामा छ।

भुटानी टोली पनि नेपाललाई घरेलु मैदानमै स्तब्ध पार्दै च्याम्पियनसिपको फाइनल खेल्ने दाउमा छ।

पछिल्लो समय उमेर समूहदेखि नै फुटबलमा लगानी बढाइरहेको भुटानले अपेक्षाकृत नतिजा हात पारिरहेको छ।

जारी च्याम्पियनसिपमा पनि भुटानी युवा टोलीको प्रर्दशन प्रशंसायोग्य छ।

नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो।

पहिलो खेलमा भारतसँग २–१ ले पराजित भुटान भने समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलअन्तरले नै हराएर सेमिफाइनलमा प्रवेश गरेको हो।

भुटान भारत र मालदिभ्सविरुद्ध दुवै खेलमा १० खेलाडीमा सीमित भएको थियो।

प्रकाशित मिति : ९ भाद्र २०८१ आइतबार ००:००  ८ : ०९ बजे