३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मर्स्याङ्दी दुर्घटनामा ज्यान गुमाएकाहरुको शव भारत लगियो



पोखरा ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु भएका भारतीयको शव विमानमार्फत लगिएको छ।

२७ जना मृतकको पोस्टमार्टम सकेर शनिबार भारतीय सेनाको एयरफोर्स विमानमार्फत शव भारत लगिएको हो।

२५ जनको शव विमानमार्फत र दुई जनाको गोरखपुर हुँदै सडकमार्गबाट शव भारत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषबहादुर रिजालले बताए। शव लिनका लागि भारतीय सेनाको एयरफोर्स विमान भरतपुर विमानस्थल आएको थियो।

भरतपुर विमानस्थलमा भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेसमेत पुगेकी थिइन्। उनी त्यसअघि काठमाडौँ विमानस्थलमा ओर्लिएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते १६ जनाको अवस्था बुझ्न पुगेकी थिइन्।

गृहमन्त्री रमेश लेखकसँगसमेत दुर्घटनाबारे जानकारी लिएकी उनी विमानमा भरतपुर विमानस्थल पुगिन्। शव लिन आएको भारतीय सेनाको एयरफोर्स विमानमै मन्त्री खडसे स्वदेश फर्किएकी छन्।

शुक्रबार पोखराबाट काठमाडौँ पशुपतिनाथ दर्शनका लागि भारतीय पर्यटक बोकेर जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङदी नदीमा खस्दा २७ जनाको मृत्यु भएको हो।

प्रकाशित मिति : ८ भाद्र २०८१ शनिबार ००:००  ५ : ५५ बजे