४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुग्लिन–नारायणगढ सडक खण्डमा बस पल्टियो, २५ जना यात्रु घाइते



काठमाण्डौ ।

चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ को १७ किलोमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एउटा बस पल्टिएको छ ।

रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३०-३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ ।

घाइतेमध्ये सात जनाको भरतपुर अस्पतालमा, आठ जनाको पुरानो मेडिकल कलेजमा र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ढुङ्गाले लागेको बसमा क्षति पुगेको छ । सडकमा अवरोध नरहेको र गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

यसअघि गएको असार २८ गते मुग्लिन–नारायणगढ सडक खण्डकै १७ किलोमा पहिरोबाट झरेको ढुङ्गाले लागेर लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीका मेघनाथ विकको ज्यान गएको थियो । त्यसै दिन सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१ शुक्रबार ००:००  ४ : २३ बजे