३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः हवाई उडान शुरू



गुल्मी ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः नियमित रूपमा हवाई उडान शुरू भएको छ । मौसम बिग्रिएपछि गएको असार १४ गतेदेखि अवरुद्ध बनेको हवाई सेवा आजदेखि सञ्चालनमा आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

वर्षादको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएका कारण सात हप्तासम्म उडान प्रभावित बनेको थियो । यसअघि हप्ताको चार पटक उडान हुँदै आएको भए पनि केही समय हप्ताको एक दिन शुक्रवार मात्र उडान हुने स्टेशन प्रमुख थापाले बताउनुभयो । नेपाल वायु सेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेशनमा रहेका कारण जहाज नबन्दासम्म हप्तामा एक पटक मात्र उडान हुने बताइएको छ ।

आज बिहान काठमाण्डौदेखि १२ जना यात्रु लिएर रेसुङ्गा आएको जहाज खाली फर्किएको छ । जहाज नियमित नभएको र मौसम राम्रो नभएका कारण काठमाण्डौ जानका लागि सम्पर्कमा रहेका कतिपय व्यक्तिहरूले पछिल्लो समय नजाने बताएपछि जहाज रित्तै फर्किएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८१ शुक्रबार ००:००  ३ : १५ बजे