३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

रवि लामिछानेलाई मुकुलले भने– तपाईं ठग हो भनेर प्रमाणित गर्न सक्छु



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् ।

‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ ढकालले रास्वपालाई पठाएको पत्रमा उल्लेख छ ।

लामिछाने सहकारी ठगी, राहदानी दुरुपयोग र किर्तेमा संलग्न रहेको आरोप ढकालले लगाएका छन् । सभापति लामिछाने गरेको ‘कुकर्म’को पर्दाफास गर्नु पार्टीको संस्थापक महामन्त्रीको हैसियतले कर्तव्य भएको ढकालले पत्रमा लेखेका छन् ।

लोकतान्त्रिका विधिले प्रश्न उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा बोल्ने हिम्मत कसैले गर्न नसक्ने अवस्था बनेको उनले लेखेका छन् ।

‘आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ सभापति लामिछानेलाई लक्षित गर्दै ढकालले पत्रमा लेखेका छन्, ‘पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।’

प्रकाशित मिति : ७ भाद्र २०८१ शुक्रबार ००:००  ११ : ५९ बजे