४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

घुस प्रकरणः कपिलवस्तु मालपोतका नासु खनाल दोषी ठहर



कपिलवस्तु ।

विशेष अदालत काठमाडौंले घुस प्रकरणमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुव्वा नरहरि खनाललाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले खनाललाई दोषी ठहर गरेको हो ।

अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो बराबरको जरिवाना र ३ महिना कैद सजायँ तोकेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा खनालविरुद्ध गत जेठ १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  ८ : ११ बजे