४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसमः अझै तीन दिन पानी पर्ने सम्भावना



काठमाण्डौ ।

आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । गएराति र बिहान बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला,सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोकको नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट क्षेत्रमा ठूलो पानी परेको छ ।

यसैबीच वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढेपछि कैलालीको कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्ती डुबानमा परेको छ ।

बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेशमा पनि वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१ बिहिबार ००:००  ८ : ३७ बजे