४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बाणगंगा नगरपालिका : विपत्‌को पूर्वतयारी र क्षतिको विवरण संकलनमा जोड



चारनम्बर ।

बाणगंगा नगरपालिकामा आज विपत् व्यवस्थापन समितिको बैठकले विपत्‌को पूर्व तयारी र क्षतिको विवरण सङ्कलनमा जोड दिएको छ । बाणगंगा नगरपालिकाको विपत् व्यवस्थापन समितिको बैठक नगर प्रमुख तथा समितिका अध्यक्ष चक्रपाणि अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले भाद्र ४ गते बिहानदेखि परेको अविरल वर्षाका कारण नगरपालिकाको विभिन्न क्षेत्रमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा आउन सक्ने विपतको पूर्व तयारीका लागि ठोस कदमहरू चाल्ने निर्णय गरेको छ।
बैठकमा वडा स्तरीय विपत् व्यवस्थापन समितिहरूलाई तत्काल बैठक बसी क्षतिको विवरण सङ्कलन गर्ने निर्णय भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पिपरा, वैरिया, चार नम्बर, गजेहडा, बनगाई बजार क्षेत्रमा परम्परागत रूपमा चल्दै आएका कलभट, खोल्सो र कुलाहरूलाई व्यवस्थित गर्ने र बाढी तथा डुबानबाट पुगेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने कुरामा बैठकले जोड दिएको छ । डुबानका कारण उत्तरी बेल्टको राजमार्ग क्षेत्रमा बढी समस्या देखिएका घर, पसल र व्यवसायमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिने बताइको छ।
नगर प्रमुख अर्यालले विपत्तिमा एम्बुलेन्स, दमकल, स्वास्थ्य टोली र जेसिबीलाई तयारी अवस्थामा राख्न निर्देशन समेत दिनुभयो । बैठकले बेस्थापितहरूलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त व्यक्तिहरूले निवेदन दिने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। यस कार्यमा जनप्रतिनिधिहरूको रोहवरमा सुरक्षा निकायको सहकार्यमा क्षतिको विवरण सङ्कलन गरिनेछ।
बाढी तथा डुबानका कारण नगर क्षेत्रमा नगरपालिकाको समन्वयमा वडावासीको सुरक्षालाई प्राथमिकता दिँदै इलाका प्रहरी कार्यालय पिपराको टोली उद्धार कार्यमा खटिएको थियो । बैठकमा भविष्यमा आउने सम्भावित विपत्तिहरूको सामना गर्नका लागि सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
बैठकमा नगर स्तरीय राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सङ्घसंस्था, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, पत्रकार महासङ्घ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  ५ : १७ बजे