४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेयर शाह र युपीका मुख्यमन्त्री योगीबीच यी विषयमा भयो छलफल



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनऊमा भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्री निवासमा आयोजित उक्तभेटमा दुई पक्षबीच कृष्णनगरको विकास र सीमा क्षेत्रको सुविधाहरू विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

मेयर शाहका अनुसार भेटमा मुख्यगरी कृष्णनगर भन्सारमा इमीग्रेशन सुविधा विस्तार, नेपाल(भारत सीमा क्षेत्रसम्मको फोरलेन सडक निर्माण, तथा फ्लाईओभर निर्माणको सम्भावना जस्ता महत्वपूर्ण परियोजना हरूको विषयमा छलफल भएको हो ।
यी योजनाहरूले कृष्णनगरलाई एक प्रमुख व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मेयर शाहका अनुसार सीमा क्षेत्रको फोरलेन सडक र फ्लाईओभर निर्माणले नेपाल र भारतबीचको आवागमनलाई सहज बनाउनेछ, यसले व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने मात्र नभइ, दुबै देशका व्यापारीहरूलाई सहज पहुँच प्रदान गर्नेछ।
भेटका क्रममा शाहले यी योजनाहरूलाई यथासिघ्र चाँडो कार्यान्वयन गर्ने प्रतिबद्धताव्यक्त गरेका हुन् ।

मुख्यमन्त्री आदित्यनाथले पनि यी योजनाहरूको सफल कार्यान्वयनका लागि आफ्नो पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले उत्तर प्रदेश सरकार यी योजनाहरूलाई साकार पार्न आवश्यक सहयोग गर्न तयार रहेको जनाएका हुन् ।
यस किसिमको सहकार्यले कृष्णनगर मात्र नभई सम्पूर्ण सीमा क्षेत्रको समृद्धिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

भेटवार्तापछि, मेयर शाहले यी योजनाहरू कृष्णनगरको भविष्यका लागि महत्त्वपूर्ण सावित हुने र आगामी दिनमा यहाँको व्यापारिक गतिविधिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

कृष्णनगर र उत्तर प्रदेशबीचको यस सहकार्यले भविष्यमा दुवै देशका सीमावर्ती क्षेत्रहरूमा व्यापारिक तथा सामाजिक गतिविधिहरूमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  ४ : ०६ बजे