४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रतिकूल मौसमका कारण पोखरामा उडान स्थगित



काठमाण्डौ ।

प्रतिकूल मौसमका कारण देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम (भिजिबिलिटी) कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रियतर्फ एअर चाइनाको विमान डाइभर्ट भएको छ । बिहान १० बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको यो विमान खराब मौसमका कारण डाइभर्ट भएको हो । अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर (होल्ड) भए पनि अहिले अवतरण हुन थालेका विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एअरको विमान आज बिहान नेपालगञ्ज डाइभर्ट भएको थियो । मौसमकै कारण हिजो पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँको केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  २ : ०८ बजे