३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

लुम्बिनीसहित यी प्रदेशमा आज भारी वर्षाको सम्भावना



काठमाण्डौ ।

देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङसहित वर्षा भइरहेको छ ।

पछिल्लो ३ घण्टामा पर्साको रंगापुरको टांडी बजारमा सबैभन्दा धेरै ६० दशमलव २ र कञ्चनपुरको दोधारामा ५४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौ उपत्यकासहित कैलाली, दैलेख, नुवाकोट, बारा, लमजुङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि पानी परिरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच कैलालीको मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने जोखिम भएकाले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपासका क्षेत्रमा रहेका दुधौरा, पसाहा पनि बाढीको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सचेत गराउँदै बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१ बुधबार ००:००  १२ : ०४ बजे