४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु



सुर्खेत ।

गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए । भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए ।

घाइते सबैलाई भेरी अस्पताल लगिएको थियो । उपचारका क्रममा राती दुई बजेतिर ३९ वर्षीय कार्कीको निधन भएको प्रहरीले जनाएको छ ।

उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१ मंगलबार ००:००  ९ : २९ बजे