४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना



काठमाण्डौ ।

काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक.दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ । देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार लगातार वर्षा नभएपनि २–४ घण्टाको फरकमा पानी रोकिँदै फेरि पर्दै गर्नेछ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै नवलपुरको डण्डामा १ सय १० मिलिमिटर वर्षा मापन भएको छ । त्यस क्षेत्रमा पर्ने नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१ मंगलबार ००:००  ९ : १० बजे