४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमालेको बाणगंगा कमिटीको नवौं पूर्ण बैठक, कुन नेताले के बोले ?



मायादेवी अनलाइन, मोतिपुर ।

नेकपा एमाले कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले बाणगंगा नगर कमिटीको अधिवेशनको तयारी राम्रो भएको बताउँदै पार्टीलाई सुदृढ गर्दै सदस्यता विस्तारको अभियान चलाउनुपर्ने बताए । उनले जनवर्गीय संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य न्यौपानेले विभिन्न शक्तिहरूले एमालेलाई कमजोर बनाउन खोजिरहेको बताए।

उनले नागरिकमा उत्पन्न निरासा हटाउन सकारात्मक सन्देश र उत्साहका लागि काङ्ग्रेस र एमाले सत्ता सहकार्यमा जुटेको बताए । न्यौपानेले महंगी, भ्रष्टाचार र अनियमितता विरुद्ध कांग्रेससँगको सहकार्यलाई जारी राख्ने, तर अन्य मुद्धामा फरक मत कायम रहेको स्पष्ट पारे।

केन्द्रीय निर्वाचन आयोग सदस्य झबिलाल पोखरेलले हालको कमिटीलाई धन्यवाद दिँदै कपिलवस्तुमा एमालेको जीतलाई उल्लेखनीय ठहर गर्दै नगरमा पार्टी कार्यालय बनाउने कुरा राम्रो आएको छ । नगरभित्र पार्टीको नाममा जग्गा पनि छ, यो सम्भावना पनि छ, हाम्रो साथ रहने पोखरेलले बताए । उनले काम र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने र पार्टीमा छलफल र अन्तरविमर्शलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रदेश कमिटी सदस्य डम्बर शर्माले अधिवेशनको तयारीलाई सराहनीय भन्दै पार्टीभित्र आन्तरिक शुद्धिकरण आवश्यक भएको बताए। उनले अधिवेशनका सन्दर्भमा कतिपय नेतृत्वका नामहरू बाहिर आएपनि सर्बसम्मत हुने प्रयास हुनसक्छ तर अन्तिम निर्णय प्रतिनिधिले गर्ने अधिकारको पक्षमा रहेर छलफल गर्नुपर्नेमा जोड दिए। शर्मा सहित अन्य नेताहरूले पदको लागि हुने स्वाभाविक प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले नगर कमिटीको प्रभावकारी कामको प्रशंसा गर्दै नगर अधिवेशन सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरे। उनले आन्तरिक अन्तरविरोध हटाउनुपर्ने, सरकारमा हुँदा पार्टीले गरेको राम्रो कामको प्रचार गर्नुपर्ने र विगतको समिति जस्तै राम्रो नेतृत्व चयन गर्नुपर्ने बताए।

बैठकमा जिल्ला कमिटी सदस्य उमानाथ पौडेलले कार्यकर्तामा उत्पन्न वितृष्णा र गुटगत राजनीतिका कारण पार्टीमा समस्या उत्पन्न हुन सक्ने भन्दै नेताहरूले कार्यकर्ताको कुरा सुन्नुपर्ने र गुटबन्दी गर्न नहुनेमा जोड दिए। उनले नेताहरूले व्यक्ति बोक्ने काम गर्दा पार्टीमा समस्या आउने बताउँदै यस्तो प्रवृत्ति त्याग्नुपर्ने धारणा राखे।

नेकपा एमालेको बाणगंगा नगरकमिटीको नवौं पूर्ण बैठकमा विभिन्न नेताहरूले आन्तरिक शुद्धिकरण, गुटबन्दीको अन्त्य र सहमतिको प्रयासका विषयमा जोड दिएका थिए। बैठकले नेकपा एमालेको बाणगंगा नगरकमिटीलाई आन्तरिक रूपमा सुदृढिकरण गर्दै सक्षम नेतृत्व र कार्यकर्ताको भावना अनुसार काम गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको छ ।

नगर अध्यक्ष युवराज पोखरेलले राजनीतिक प्रतिवेदन, सचिव विष्णु गिरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनहरु सर्वसम्मत पारित भएको छ । बैठकमा नगर उपाध्यक्ष मुक्त बहादुर कार्कीले स्वागत गर्दै नगरको पार्टी कार्यालय बनाउने अभियानलाई सवैले साथ दिनुपर्ने बताएका थिए ।

प्रतिनिधी छनौटको मापदण्ड

नवौं पूर्ण बैठकले भदौ १ गते ११ बजे ११ वटै वडामा अधिवेशनका प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय गरेको सचिव विष्णु गिरीले जानकारी दिए । नेकपा एमाले बाणगंगामा नविकरण भएका २७ सय ६० पार्टी सदस्य छन् । आयोजक कमिटी ७९ सदस्य सहित खुलाबाट आउने प्रतिनिधि समेत गरी २ सय बढि प्रतिनिधी रहने छन् ।

भदौ ७ गते हुने नगरको दोस्रो अधिवेशनमा प्रतिनिधि छनोटका लागि २२ सदस्य बराबर एक प्रतिनिधि रहनेछन् । जसमा ३ जना प्रतिनिधी छनौट गर्दा एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । १५ प्रतिशत युवा प्रतिनिधित्वको सुनिश्चितता गरिएको उप-सचिव चेतनारायण भण्डारीले जानकारी दिए ।

दोश्रो नगर अधिवेशनको निर्वाचन समितिको संयोजकमा नेत्रज्योति गिरी चयन भएका छन् भने अन्य सदस्यहरूमा रोमकान्त घिमिरे, हरि अधिकारी, प्रकाश घिमिरे र अनिमा खरेल रहेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८१ मंगलबार ००:००  ६ : ४८ बजे