३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सिद्धार्थ सहकारी सुदृढिकरणका लागि संचालक र विषयगत समितिबीच छलफल



मायादेवी अनलाइन, बाणगंगा ।

सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड वाणगंगा ४ सिद्धिपुरले आफ्नो संस्थाको सुदृढिकरणका लागि संचालक समिति, लेखा सुपरिवेक्षण समिति र विषयगत उपसमितिहरू बीच छलफल कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार सहकारीको सभाहलमा आयोजित कार्यक्रममा सहकारीको मूल अवधारणा र मर्म अनुसार संस्थाको क्रियाकलापलाई सुदृढ गर्नुपर्नेमा जोड दिइयो। सहकारीका व्यवस्थापक हरिलाल शर्माले आर्थिक तरलताको वर्तमान अवस्थामा सहकारीलाई बलियो बनाउन सदस्य तथा कर्मचारीहरूको सक्रियता अपरिहार्य रहेको बताएका छन्। उनले आफ्नो प्रस्तुतीकरण मार्फत सहकारीको वित्तीय अवस्थालाई सुधार्न विभिन्न उपायहरू प्रस्तुत गरेका थिए।

सहकारीका अध्यक्ष इन्दिरा भट्टराईले पछिल्लो समय सहकारीहरूमा देखा परिरहेका ऋण असुली, लगानी, कारोबार र व्यवसाय सम्बन्धी समस्याहरूलाई समाधान गर्न संचालक समिति र विषयगत समितिहरू बीचमा छलफल गरिएको जानकारी दिइन्।

छलफलमा सहकारी सदस्यहरूले स्वावलम्बनको महत्त्व, ससाना व्यवसाय र उद्यमको संचालन, कृषक उत्पादनको प्रभावकारी बजारीकरण तथा अवैध व्यापारलाई रोक्नुपर्ने लगायतका विषयमा विभिन्न सुझावहरू राखेका थिए।

लेखा सुपरिवेक्षण समितिका संयोजक देवकला सुवेदी कमालले सहकारीहरूलाई मितव्ययी तरिकाले संचालन गर्नुपर्नेमा जोड दिइन्। उनले सहकारीलाई सफल बनाउनका लागि सहकारीसंग सहकार्य गरी नगरपालिकाले किसान लक्षित कार्यक्रमहरू ल्याएर प्रोत्साहन गर्नुपर्ने सुझाव राखिन्। कार्यक्रममा विभिन्न विषयगत उपसमितिहरूको सक्रिय सहभागिता रहेको थियो। सहकारीको शिक्षा उपसमितिले बार्षिक कार्यक्रम अन्तर्गत यस छलफल कार्यक्रमको आयोजना गरेको थियो।

छलफलले सहकारीको सुदृढिकरणमा सहकारीका विभिन्न पक्षहरूलाई एकसाथ ल्याई, प्रभावकारी निर्णयहरू गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। सहकारीका सदस्यहरू बीच यस्तो छलफलले सहकारीको मर्मलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८१ सोमबार ००:००  ८ : ३४ बजे