४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सामुदायिक वन दिवस : वृक्षारोपण र अन्तरक्रिया गरी मनाइयो



मायादेवी अनलाइन, बाणगंगा ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला कपिलवस्तुले सामुदायिक वन दिवस विविध कार्यक्रम गरी मनाएको छ । फेकोफनले शनिबार फुलवारी सामुदायिक वनको सभाहलमा कृषि बन सम्बन्धी अन्तरक्रिया तथा वृक्षारोपण गरेर दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक वन व्यवस्थापनमा स्थानीय समुदायको सक्रियता अनिवार्य रहेको बताए । समूह-समूह बीच विवाद सतहमै देखिए पनि वन व्यवस्थापनमा काममा उत्कृष्टता हासिल गर्नुपर्ने बताए । सांसद पन्थीले उपभोक्ता समूहका कामले सामुदायिक वनको महत्व बुझ्न र त्यसको संरक्षणमा थप संलग्नता जनाउन मद्दत पूग्नेमा विश्वास व्यक्त गरे ।

उनले वनका लागि हामी र हाम्रा लागि वनको अवधारणामा काम गर्दा वन संरक्षण भई प्रतिफल मिल्ने बताए । सांसद पन्थीले वन व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने साथै सामुदायिक वनहरूको संरक्षण र सदुपयोगमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै दिगो वन व्यवस्थापनबाट पर्यावरणीय सन्तुलन र स्थानीय विकासमा योगदान पुग्ने स्पष्ट पारे ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगङ्गा नगरपालिकाका उप- प्रमुख रिता कुमारी चौधरीले नगरपालिकामा ३३ वटा सामुदायिक वनहरू रहेको उल्लेख गर्दै वन व्यवस्थापनमा समुदायको सक्रियता राम्रो भएको चर्चा गरिन्। उनले वनहरुमा स्रोत राम्रो रहेको बताउँदै, वन व्यवस्थापन, जीविकोपार्जन र विकासमा नगरको सहकार्य भएको बताइन्।

उपप्रमुख चौधरीले सामुदायिक वनहरूको संरक्षण र सदुपयोगको आवश्यकता औंल्याउँदै काठको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताइन्। हामीले काठको प्रयोगलाई बढावा दिनुपर्छ र स्थानीय स्रोतहरूको सदुपयोग गरेर दिगो विकासतर्फ अघि बढ्नुपर्छ, उनले भनिन् बाहिरबाट आयातित वस्तु आल्मुनियम र युपिभिसीको प्रयोगलाई घटाउनु पर्दछ । बनजंगलमा नयाँ अतिक्रमण हुन नदिन उनले जोड दिइन्।

फेकोफनका प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईले उपभोक्ता समूहबीच वन कर्मचारीले फाटो ल्याउने काम गरेको आरोप लगाए । केही वन कर्मचारीहरूले आफ्ना स्वार्थका लागि वन व्यवस्थापनलाई प्रभाव पार्ने प्रयास गरिरहेको आरोप लगाए। उनले दिगो वन व्यवस्थापनको महत्वमा जोड दिँदै, वन व्यवस्थापन प्रणालीलाई सुधार्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘समूहहरूको बीचमा फाटो ल्याउने काम गरिएका छन्, जुन दिगो वन व्यवस्थापनको लागि चुनौती हो। ‘

वन सम्बर्धन प्रणालीलाई फेकोफनले आफूले भन्दै आएको दिगो वन ब्यबस्थापनको रुपमा आफ्नो कार्यक्रम र समर्थन रहेको उनले स्पष्ट पारे ।

राजापानी सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष सिता पौडेलले सामुदायिक वनबाट उपभोक्ताहरूले हक अधिकार पाएको बारे चर्चा गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लामो समयदेखि उपभोक्ताहरूलाई अधिकार सम्बन्धी ज्ञान दिन सकेको बताइन्। उनले वन व्यवस्थापनमा उपभोक्ताहरूको भूमिका महत्वपूर्ण रहेको र तिनलाई अझ बढी प्रभावकारी पार्नुपर्ने आवश्यकता औंल्याइन्।

सामुदायिक वन उपभोक्ता महासङ्घ कपिलवस्तुका अध्यक्ष जयलाल गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कौशल राज न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । सामुदायिक वनको महत्व र यसको समृद्धिमा उपभोक्ताको योगदान अत्यन्त महत्त्वपूर्ण भएको अध्यक्ष जयलाल गिरिले बताए ।

कार्यक्रमको सञ्चालन महासङ्घका नगर अध्यक्ष लेम बहादुर गुरुङले गरेका थिए । सहभागीहरूले सामुदायिक वन क्षेत्रलाई हरित बनाउन विभिन्न प्रजातिका बिरुवाहरू लगाएका थिए। यसले वन संरक्षण र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रमले सामुदायिक वनको संरक्षण र विकासमा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१ शनिबार ००:००  ११ : ४३ बजे