३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पोर्चुगलका डिफेन्डर पेपेले लिए सन्न्यास



एजेन्सी ।
पोर्चुगलबाट एक सय ४१ अन्तर्राष्ट्रिय खेल खेलेका डिफेन्डर पेपेले फुटबल करिअरबाट बिदा लिएका छन्

पोर्चुगलका भेट्रान डिफेन्डर पेपेले फुटबल करिअरबाट सन्न्यास लिएका छन् । ४१ वर्षीय पेपेले बिहीबार पोर्चुगल फुटबल संघलाई आधिकारिक पत्र पठाउँदै सन्न्यासको घोषणा गरेका हुन् । युरोपियन च्याम्पियनसिपमा पाका खेलाडीका रूपमा उनले गत महिना सहभागिता जनाएका थिए । पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा फ्रान्सबाट टाइब्रेकरमा पराजित भएको थियो । सन् २०१६ मा पोर्चुगलले पहिलोपटक युरो जित्दा उनले डिफेन्डर क्षेत्रमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । रियल म्याड्रिडका सेन्टर ब्याक पेपेले पोर्चुगलबाट एक सय ४१ खेल खेले ।

पोर्चुगलबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडीमा उनी तेस्रो स्थानमा पर्छन् । उनीभन्दा अगाडि क्रिस्टियानो रोनाल्डो र जाओ माउरिन्हो हुन् । फुटबल संघलाई सन्न्यास पत्र लेखेपछि उनले सोसल मिडियामा आधा घण्टा लामो भनाइ राखेका थिए । १० वर्ष स्पेनिस क्लब रियल म्याड्रिडमा रहँदा तीनपटक च्याम्पियन्स लिग तथा त्यति नै पटक ला लिगा उपाधि उनले जितेका थिए ।

‘मैले धेरै अगाडि सन्न्यासबारे सोचेको थिएँ, तर युरो २०२४ थियो, फेरि च्याम्पियन बनाउने धोको थियो,’ पेपेले भने, ‘क्लब र राष्ट्रका लागि जतिपटक खेलेँ, त्यसमा इमानदारका साथ प्रतिस्पर्धा गरेको थिएँ ।’ राष्ट्रिय टोली तथा क्लबबाट खेल्दा सधैँ परिवारको वातावरण पाएको उनले बताएका छन् । उनी भन्छन्, ‘पोर्चुगलबाट होस् वा रियल म्याड्रिडबाट खेल्दा ममाथि कहिल्यै नराम्रो व्यवहार भएन, सधैँ साथीबाट माया पाएँ ।’ लामो फुटबल करिअरमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।

पेपेलाई मिस गर्दै रोनाल्डो
सन् २००४ देखि २०२४ सम्म पोर्चुगलबाट रोनाल्डो र पेपेले सँगै खेलेका थिए । दुई दशक लामो यात्रामा दुवैले एक–अर्कालाई निकै सहयोग गरेका छन् । रोनाल्डोले रियल म्याड्रिडका पूर्वमित्र पेपेको सन्न्यास स्वाभाविक भएको बताएका छन् । ‘पेपेले सन्न्यास लिएको थाहा पाएँ । मसँग मित्रलाई भन्ने शब्द नै छैन,’ रोनाल्डोले भने, ‘हामीले सँगै धेरै उपाधि जित्यौँ, मैदानमा हामीबीचको तालमेल मिल्थ्यो ।’

रियलमा तीन सय ३४ खेल
क्लब लेभलमा उनले लामो समय बिताएको रियल म्याड्रिड हो । एक दशक म्याड्रिडमा रहँदा उनले तीन सय ३४ खेलमा प्रतिस्पर्धा गरेका थिए । मैदानमा उनी सधैँ आक्रामक रूपमा प्रस्तुत हुने गर्छन् । उनले करिअरमा १७ रातो र दुई सय १२ पहेँलो कार्ड पाएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८१ शनिबार ००:००  १० : १४ बजे