३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

थप देशमा फैलियो मंकी पक्सको घातक स्ट्रेन



एजेन्सी ।
अफ्रिकाका थप चार देशमा एमपक्स ९मंकी पक्स०का घातक स्ट्रेन फेला परेको छ । यसले विश्वभर नै स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ ।

यस स्ट्रेनबाट गणतन्त्र कंगोमा १४ हजारजना भन्दा धेरैमा एमपक्सको सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये ५११ जनाको मृत्यु भएको छ । यसअघि एम पक्स नदेखिएका चार अफ्रिकी देशहरू बुरुन्डी, केन्या, रुवान्डा र युगान्डामा पनि कङ्गोबाट सङ्क्रमण सरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ ।

एम पक्सको महामारी विश्वव्यापी सार्वजनिक स्वास्थ्यको चिन्ता नै हो कि भनेर निर्धारण गर्न आकस्मिक बैठक बोलाउने योजना बुधवार नै डब्ल्यूएचओका अधिकारीहरूले बनाएका थिए । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले एम पक्स अन्यत्र पनि फैलिन सक्ने जोखिमलाई सम्बोधन गर्न बुधवार स्वास्थ्य एड्भाइजरी जारी गरेको छ ।

हालै गणतन्त्र कंगो वा त्यो देशसँग सीमा जोडिएका मुलुकको भ्रमणमा गएका मानिसहरूमा एम पक्सको आशङ्का देखिएमा तत्कालै सतर्कता अपनाउन सुझाव दिइएको छ । एम पक्स मान्छे र सङ्क्रमित जनावरबिच सहजै सर्न सक्ने भाइरल रोग हो । छुँदा, चुम्बन गर्दा वा यौन सम्पर्क राख्दा मात्रै होइन यो सङ्क्रमण बिरामीले प्रयोग गरेको तन्ना, कपडा र सुइँबाट पनि सर्न सक्ने डब्ल्यूएचओले बताएको छ ।

एमपक्सको सङ्क्रमणमा परेको व्यक्तिलाई ज्वरो आउने, शरीरमा बिबिरा आउने, टाउको दुख्ने, मांसपेशी र ढाड दुख्ने, जतिबेला पनि कमजोर भएको महसुस हुने लगायत समस्या देखिन्छ । दशकौँसम्म यो रोग मध्य र पश्चिम अफ्रिकी देशमा मात्रै पाइएको थियो । तर सन् २०२२ देखि युरोप र उत्तर अमेरिकामा समेत यसको सङ्क्रमण देखिन थालेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१ बिहिबार ००:००  ११ : २८ बजे