३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कपिलवस्तुः एक वर्षमा ११ जना एचआईभी संक्रमितले ज्यान गुमाए



कपिलवस्तु ।
कपिलवस्तुमा एक वर्षको अवधिमा ११ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ८ जना पुरुष र ३ महिला संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालको एआटी सेन्टरको रेकर्डमा रहेका ७ र महाराजगंज एआटी सेन्टरको रेकर्डमा रहेका ४ जनाको मृत्यु भएको हो ।

एआरटी सेन्टरमा सम्पर्कमा नहरेको, औषधि सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफान खाँले बताए । जिल्लामा हालसम्म १४७ जना एचआईभी संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एआटी सेन्टर तौलिहवामा ७८७ र महाराजगंजमा १५० जना एचआईभी संक्रमितको दर्ता छ । तर तौलिहवामा ४८९ र महाराजगंजमा ११७ जनाले मात्र एआरटी खाने गरेको रेकर्ड छ । ९२ जना सम्पर्कविहीन भएर औषधि समेत खान छाडेका छन् । उनीहरुको खोजी गरिए पनि सम्पर्कविहीन अवस्थामा रहेकोले समस्या परेको उनले खाँले बताए ।

संक्रमितहरुको उपचार, परिक्षण औषधि सबै निःशुल्क छ । तर अझै पनि हेयभाव, भेदभाव र डरले धेरै संक्रमितहरु खुल्न नसेककोले समस्या परेको खाँले बताए । उपचारका लागि कपिलवस्तु अस्पताल र महाराजगंजमा एआटी सेन्टर संचालित छन् । सिडीफोर काउन्ट रगत परीक्षण, चाहिने औषधिहरु सेन्टर मै उपलब्ध हुने गरेको तौलिहवा एआरटी सेन्टरकी परामर्शदाता जरिना खातुनले बताइन् ।

‘हामीले यहीँबाट सबै सेवाहरु दिने गरेका छौं, उपचारमा आउने कतिपय संक्रमितहरु लामो सयम देखि सम्पर्कविहीन छन् । जसले गर्दा उनीहरुको ज्यान जोखिमा परेको छ’ उनले भनिन ‘फेला परेका संक्रमितहरु समेत उपचारमा लापरवाही गर्दा समस्या आएको छ’ । जिल्लामा ८२७ जना संक्रमित रहेको दर्ता छ तर ६०६ जनाले मात्र एआटी खाने गरेका छन् । जिल्ला एड्स समन्वय समितिले जिल्लामा कुल एक हजार ६ सय संक्रमितहरु रहेको अनुमान गरेको छ ।

जिल्लाका रोजगारीका लागि भारत गएका थुप्रै मानिसहरु रहेकोले अनुमानित संख्याभन्दा बढी संक्रमित हुन सक्ने स्वास्थ्यर्मी बताउँछन् । फेला परेका ९० प्रतिशत बढी रोजगारीका लागि भारत गएका बेला असुरक्षित यौन सम्पर्क गरेपछि संक्रमित भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन मोहोम्मद ईरफानले बताए । त्यही संक्रमित श्रीमानबाट आफनो श्रीमतीमा रोग सरेको उनले बताए । आफूहरुमाथी अझै दोस्रो दर्जाको व्यक्ति जस्तै व्यवहार हुने भएकोले धेरै खुल्न नचाहेको संक्रमितहरु आफैं बताउँछन् ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले समाजका लुकेर बसेका संक्रमितहरुलाई स्वास्थ्य परिक्षणका लागि सहजस्थिति बनाइएको बताए । ‘अझ पनि थुप्रै संक्रमितहरु लुकेर बसका छन् । यो समस्याको विषय हो सबै सरोकारवाला यस विषयमा गम्भीर हुनुपर्छ’ उनले भने ।

सक्रिय सेवा समाजकी टिम लिडर सुशीला बेल्बासेले संक्रमितहरुलाई पहिलेको भन्दा अहिले उपचार, परामर्श लगातयका धेरेै सहजता आएको बताईन । तर पनि अझै धैरे संक्रमितहरु स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनु चिन्ताको विषय रहेको उनले बताईन् ।

जिल्लामा चलायमान समूह ७० हजार, यौनकर्मी चार सय, यौनकर्मी ग्राहक एक हजार सात सय, लागूऔषध प्रयोगकर्ता तीन सय रहेको अनुमान गरिएको छ । जिल्लाबाट रोजगारीका लागि तेश्रो मुलुक समेत गएका छन् । जसले गर्दा पनि जिल्लामा संक्रमितहरुको संख्या बढी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१ बुधबार ००:००  १२ : ४६ बजे