३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बंगलादेशको संसद भङ्ग भएको घोषणा



काठमाडौँ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद भङ्ग भएको घोषणा गरेका छन्।

मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको घोषणा गरेका हुन्।

आन्दोलनमा सहभागी नेताहरूले संसद भङ्ग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका थिए।

२६ वर्षीय विद्यार्थी नेता नहिद इस्लामले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै मंगलबार दिउँसो ३ बजेसम्म संसद भंग गर्न माग गरेका थिए।

संसद भंग नभए थप आन्दोलनका लागि तयारी अवस्थामै रहन पनि उनले प्रदर्शनरत विद्यार्थीहरूलाई बताएका थिए। उक्त माग राखेसँगै राष्ट्रपति शाहबुद्दिनले संसद भंग गरेका हुन्।

विद्यार्थी नेताहरूले आफूहरूको माग पूरा भएको भन्दै फेसबुकमा लेखेका छन्।

त्यसैगरी विपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की प्रमुख बेगम खालिदा जिया पनि जेलबाट छुटेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

जियालाई बंगलादेशका राष्ट्रपति शाहबुद्दिनले छाड्न पनि आदेश दिएका थिए।

सेनाका प्रमुख वाकेर-उज-जमन, नेभी र एयरफोर्स प्रमुख, बिएनपी सहितका शीर्ष नेताहरू राष्ट्रपतिले बोलाएको बैठकले सर्वसम्मतिले निर्णय गर्दै उनलाई छाड्न आदेश दिएका हुन्।

७८ वर्षीया जिया दुई पटक प्रधानमन्त्री भइसकेकी छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदा अस्पतालमा उपचाररत छन्।

सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा उनलाई १७ वर्ष जेल सजाय सुनाएको थियो।

बिएनपीले जियाविरूद्ध गलत मुद्दा लगाएको र राजनीतिबाट टाढा राख्नलाई हसिनाको सरकारले फसाएको आरोप लगाउँदै आएको छ।

त्यस्तै आरक्षणविरूद्धको विद्यार्थी आन्दोलनको क्रममा पक्राउ परेका दुई हजार भन्दा बढीलाई पनि छाड्न आदेश दिएका थिए।

बंगलादेशको सेना प्रमुख वाकेर-उज-जमनले मंगलबार ती विद्यार्थी नेताहरूलाई भेट्ने बताएका थिए। यद्यपि उनीहरूबीचको भेट भइसकेको छैन।

सेना प्रमुख जमनले नयाँ सरकार बनाउने तयारी थालिसकेका छन्। सरकार बनाउन उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन्।

विद्यार्थी नेताहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्। युनुसले पनि यसबारे स्‍वीकार गरिरहेको उनका प्रवक्ताले रोयटर्ससँग भनेका छन्।

८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो।

लाखौं जनतालाई १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो।

गत जुनमा उनीविरूद्ध रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो। तर उनले उक्त आरोप अस्वीकार गरेका थिए। हाल युनुस पेरिसमा रहेको रोयटर्सले जनाएको छ।

आरक्षणविरूद्धको आन्दोलन चर्किँदै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन्। उनी हाल भारतको शरणमा छिन्। त्यहाँबाट बेलायत जाने तयारीमा छिन्। तर कहिले जाने भन्ने यकिन भइसकेको छैन।

त्यस्तै उनले देश छाडेसँगै आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। सेना प्रमुखले पनि अन्तरिम सरकार बनाइने घोषणा गरेका थिए।

प्रकाशित मिति : २२ श्रावण २०८१ मंगलबार ००:००  ४ : ०६ बजे