३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कपिलवस्तुका गिरधारीलाई एमाले भित्र अवसरका चाङ !



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (मसाल) हुँदै एमाले राजनीतिमा भित्रिएका नेता गिरधारीलाल न्यौपानेले अवसर नै अवसर पाएका छन् ।

मसालको राजनीति छाडे पश्चात न्यौपाने नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । माओवादीमा रहदा समेत न्यौपानेले अवसर पाउन छाडेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नजिक रहेका उनले पार्टी भित्र पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाएका थिए ।

लामो समय प्रवासमा रहेर राजनीति गरेका न्यौपाने वि.सं. २०६४ सालमा राष्ट्रिय जनमोर्चाबाट संविधान सभा सदस्यको उम्मेदवार बनेका थिए ।

मसालबाट चुनाव लड्दा जमानत समेत बचाउन नसकेका उनी निर्वाचन पश्चात माओवादी भित्रिएका थिए ।

ज्यानको बाजी थापेर जनयुद्ध लडेका नेतालाई पाखा लगाउँदै न्यौपानेले पोलिटव्यूरो सदस्यसँगै कपिलवस्तु इन्चार्जको जिम्मेवारी पाए ।

कपिलवस्तु माओवादीका प्रभावशाली नेता चक्रपाणी खनाल वलदेवको गृह जिल्ला हो ।

वि.सं. २०७४ को आम निर्वाचन पश्चात एमाले र माओवादी केन्द्र बीच पार्टी एकता हुँदा न्यौपाने केन्द्रीय सदस्य बने । लगत्तै उनी पोलिटव्यूरो सदस्यमा बढुवा भए । उनलाई माओवादी समूहबाट बढुवा गरिएको थियो ।

नेकपा जस्तो शक्तिशाली पार्टीको कपिलवस्तु इन्चार्ज भएर उनले काम गरे ।

नेकपा भित्र तीव्र विवाद आउँदा न्यौपाने प्रचण्ड-माधव समूहमै सक्रिय थिए । ०७७ पुस ५ मा तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनी त्यसको विरोधमा सक्रिय रुपमा लागेका थिए ।

प्रतिनिधिसभा विघटनको रापतापमै उनी एकाएक ओली समूह तिर लागे ।

ओली समूहमा लागेका उनी एमाले माओवादीको एकता भङ्ग हुँदा एमालेतिर बसे ।

एमाले विभाजन हुँदा उनी ओली समूहमै रहे ।

ओली समूहले एमाले पार्टी बनाएर अगाडी बढ्दा न्यौपानेले अवसर पाउन भने छाडेनन् । नाम पढेर सकिएको पार्टीको दशौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य बने ।

केन्द्रीय सदस्य बनेका उनलाई पार्टीको विभागीय प्रमुखको जिम्मेवारी दिइयो । विहीबारमात्र बसेको एमालेको सचिवालय बैठकले उनलाई कपिलवस्तु इन्चार्ज बनाएको छ । कपिलवस्तु इन्चार्ज बनेर काम गरेका एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ३ मा इन्चार्जको जिम्मेवारी पाउँदा न्यौपानेले जिल्ला इन्चार्ज पड्काएका छन् ।

न्यौपाने पार्टी राजनीतिमा मात्र होइनन् सत्ता राजनीतिमा पनि अवसरै अवसर पाउने नेता हुन् । उनलाई माओवादी केन्द्रले ०७४ को आम निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार बनाएको थिए । त्यस बेला उनी समावेशी कलष्लर भएको कारण सांसद बन्न पाएनन् ।

०७९ को आम निर्वाचनमा उनलाई एमालेले खस, आर्य तर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बनायो । उनी खस, आर्यको एक नम्बरमा थिए । एमाले लुम्बिनीमा एमालेले प्रभावशाली जित निकाल्दा उनी सांसद बन्ने अवसर पाए ।

समानुपातिक तर्फबाट सांसद बनेका न्यौपाने त्यतिमा मात्र रोकिएका छैनन् । उनलाई पार्टीले लुम्बिनी प्रदेशको विशेषाधिकार समितिको सभापति बनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१ शुक्रबार ००:००  ९ : ०० बजे