३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

भैरहवालाई सातामा ४ दिन बैंककसँग जोड्दै थाई एयर एसिया



काठमाडौँ ।
थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको हो । ‘थाई एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।’

उनका अनुसार, प्राधिकरणअन्तर्गत ‘एभिएसन सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन’ निर्देशनालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन हुँदै प्राधिकरणमा पुगेको प्रस्तावलाई महानिर्देशक प्रदीप अधिकारीले सदर गरेका छन् ।

थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने प्राधिकरणले जनाएको छ ।

५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो । एयर एसियाले २०६९ देखि २०७५ सम्म नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो । थाई एयर एसिया आउने भएपछि एयर एसियाको बक्यौता रकम भने बैंक ग्यारेन्टीमार्फत गत चैतमा बुझाइएको विमानस्थलको महाप्रबन्धक जगन्नाथ निरौलाले गत चैतमै बताएका थिए । ‘साँवा र ब्याज गरी २७ करोड बुझाउन २४ किस्तामा बुझाउन बैंक ग्यारेन्टी प्राप्त भएको छ,’ उनको भनाइ थियो । त्यसपछि थाई एयर एसियालाई नेपालमा उडान अनुमतिको बाटो प्राधिकरणले खुला गरेको हो ।

तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङको कार्यकालमा थाई एयर एसियाले उडानका लागि मन्न्त्रालयमा आवेदन दिएको थियो । मन्त्रालय हुँदै प्राधिकरण र मातहतका कार्यालय पुगेको प्रस्तावमा बिहीबार निर्णय भएको हो । २० वर्षअघि स्थापना भएको यो ‘बजेट क्यारियर’ वायुसेवाले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।

नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्यांक छ । थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ ।

उडान अनुमति माग गरेको एयर इन्डिया एक्सप्रेसको प्रस्तावमा भने कुनै निर्णय भएको छैन । एयर इन्डियाले भारतका दिल्लीलगायतका सहरबाट दैनिक तीनवटा उडान काठमाडौं गर्न अनुमति माग गरेको छ । ‘अबका दिन नेपालमा उडान गर्न प्रस्ताव गर्ने वायुसेवा कम्पनीलाई भैरहवा र पोखरामा पनि उडानमा समेटेर अनुमति माग गर्न भनेका छौं,’ प्राधिकरणको उडानसँग सम्बन्धित निर्देशनालयका एक अधिकारीले भने, ‘त्यसैगरी दुई वटाभन्दा बढी जनरल सेल्स एजेन्ट ९जीएसए० भएका वायुसेवालाई पोखरा र भैरहवा उडानमा प्रोत्साहन गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूलाई यही निर्देशन दिएका छन् ।’

२०७९ जेठमा भैरहवा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । त्यही बेलादेखि कुवेतको जजिरा एयरवेजले पहिलो वायुसेवाका रूपमा नियमित अन्तर्राष्ट्रिय उडान गरेको थियो । तर उडान नियमित हुन सकेन ।

प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार जजिराले भैरहवामा जम्मा १ सय १० वटा उडान गर्‍यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान गरेको थियो । त्यो पनि अहिले रोकिएको छ । गत वर्ष जेठदेखि नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आउने उडान सातामा एक दिन (मंगलबार) भैरहवामा ‘टचडाउन’ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै आएको छ ।

२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भैरहवास्थित आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गरेका थिए । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेको भैरहवा विमानस्थल ३५ अर्ब ६६ करोड लागतमा निर्माण भएको हो । यसमा एसियाली विकास बैंकलगायतको सहयोग रहेको छ । -कान्तिपुरबाट

प्रकाशित मिति : १८ श्रावण २०८१ शुक्रबार ००:००  ८ : २९ बजे