३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

विपद् व्यवस्थापन र जलवायु उत्थानशीलता योजना सम्बन्धी अभिमुखीकरण



मायादेवी अनलाइन,वाणगंगा ।

वाणगंगा नगरपालिकामा स्थानीय विपद व्यवस्थापन समिति तथा विभिन्न सरोकारवालालाई स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अध्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख चक्रपाणी अर्यालले गर्नुभएको थियो। प्रमुख अर्यालले विपद् व्यवस्थापनको ऐन कार्यान्वयन गर्दै सबैको समन्वय र सहकार्यको महत्त्वलाई जोड दिएका थिए। उनले विपद् सबैको साझा समस्या भएकोले स्थानीय स्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गरी अगाडि बढ्नुपर्ने धारणा राखे। ऐन नियम अनुसार काम गर्नुपर्ने हुँदा श्रोतको उपलब्धता र सिमितताले विपद् व्यवस्थापन र राहत वितरणमा केही झन्झटिलो र समस्या आउने गरेको नगर प्रमुख अर्यालले उल्लेख गरे ।
वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले विपद् आपतकालिन अवस्था आउने भएकाले यसको पूर्व तयारी, सचेतीकरण र व्यवस्थापन गर्दै समुदायलाई कृयाशिल बनाउदै लैजाने विषय भएको स्पष्ट पारे ।
वाणगंगा नगरपालिकाले २०७६ सालमा निर्माण गरेको विपद् तथा जलवायु उत्थानशील योजनालाई अद्यावधिक गर्दै, विपद् पूर्व तयारी, जोखिम न्यूनिकरण, तथा व्यवस्थापनमा थप जोड दिने निर्णय गरिएको छ। नगरपालिकाले नगरस्तरमा र ११ वटै वडामा वडास्तरीय अभिमुखीकरण गर्ने योजनाको कार्यतालिका निर्माण गरेको छ ।

साउन १८ गतेदेखि २२ गते सम्म सवै वडाहरुमा विपद् तथा जलवायु उत्थानशील योजनाका लागि छलफल गर्ने तालिका रहेको योजना शाखा प्रमुख शान्ताराज आचार्यले बताए । युनिसेफ नेपालको सहकार्यमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वाणगंगा नगरपालिकामा गठित विपद् व्यवस्थापन समिति, स्थानीय राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा विपद् व्यवस्थापन र जलवायु उत्थानशीलताको महत्व र यसमा सबैको भूमिका र जिम्मेवारीबारे जागरूकता फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सोही अवसरमा विभिन्न विषयगत उपसमिति समेत गठन गरिएको छ । परामर्शदाता विजय सिंह ठकुरीले अभिमुखीकरण गरेको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख खिम बहादुर जिसिले गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१ बिहिबार ००:००  १२ : २४ बजे