५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङमा गुडिरहेको ट्रकमा आगो लाग्यो



दाङ ।
गुडिरहेको ट्रकमा आगलागी भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा एक्कासी आगलागी हुँदा जलेर नष्ट भएको छ।

आइतबार बिहान लमही नगरपालिका- ९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा करिब ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ’ प्रहरी उपरिक्षक केसीले भने,’अनुसन्धानपछि कारण खुल्ला।’

लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए।

आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका-२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्। ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायब निरीक्षक माधव रावतको कमाण्डमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो।

आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खाली ट्रक सम्राट सिमेन्ट उद्योगमा सिमेन्ट लिन आइरहेको थियो। चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८१ आइतबार ००:००  १२ : ०५ बजे