१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस संक्रमण बढ्दो



एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को बढ्दो संक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन संक्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले ज्यान लिइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण–पूर्वी एसियाली देशमा कलेजोको क्यान्सर निम्त्याउने चौँथो ठूलो कारण हेपाटाइटिस बनेको डब्ल्यूएचओले जनाएको छ । यस्तै कलेजो फेल भएका मध्य ७५ प्रतिशत हेपाटाइटिस ‘बी’र ‘सी’ संक्रमणको कारण भएको पाइएको विज्ञप्तीमा उल्लेख छ ।

डब्लुएचएको तथ्याङ्क अनुसार सन् २०२२ मा दक्षिण–पूर्वी एसियामा सात करोड ५० लाख मानिसमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमण भएको थियो । प्रारम्भिक उपचारबाट हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस ‘बी’ र ‘सी’ परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस संक्रमणबाट विशेषगरी नवजात शिशु र बालबालिका उच्च जोखिममा छन् । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईंदैछ ।

प्रकाशित मिति : १३ श्रावण २०८१ आइतबार ००:००  ७ : १५ बजे