२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

किशोरीको फोन कल : मेयर उपमेयर छात्रवृत्ति कार्यक्रम लागू



मायादेवी अनलाइन, चन्द्रौटा ।

करिब एक महिना अघि बेलुकाको ७ बजे एक जना किशोरीको फोन शिवराज नगरपालिकाका मेयर अजय थापालाई आयो । उक्त फोन किशोरीको शिक्षा प्रतिको आकांक्षा पुरा गर्ने मात्र थियो । किशोरीको पढ्न चाहने संबादको संवेदनशीलता बुझेर स्थानीय समाजसेवी र पालिकाका जनप्रतिनिधीहरुको बीचमा मेयर थापाले शेयर गरे ।

थापालाई अपरचित किशोरीले आफू कक्षा १२ को अध्ययन पुरा गरेको र स्नातक तह पढ्न चाहेको फोन संवादमा गरेकी थिइन्। किशोरीलाई एकातिर बुवाको मृत्यु भएको पीडा, अर्कोतिर गरिब, विपन्न परिवारमा हुर्केकाले उच्च शिक्षा पढ्न आर्थिक समस्या भएको कारणले आफ्नो स्नातक तह पढ्ने आफ्नो इच्छा पुरा हुन नसकेको सुनाएकी थिइन् ।

उनी जस्ता कयौं किशोर किशोरीहरुले उच्च शिक्षा हासिल गर्न नसकेको साथै आर्थिक अभावका कारण बिदेशिनु परेको समाजको यतार्थ छ, भने अन्य कुनै नकारात्मक बाटो समात्न सक्ने अवस्था पनि आउँन सक्छ । यस्ता स-साना बिषयमा स्थानीय सरकार गम्भीर बन्नु पर्छ भन्ने चिन्तनका साथ मेयर थापाले गरिबका छोराछोरीको शिक्षामा पहुँच हुनुपर्छ भनेर काम गरेको देखिन्छ ।

हाल शिवराज नगरपालिकाले माध्यमिक तह १२ कक्षासम्म विद्याथीहरुको निशुल्क शिक्षा अध्ययनका लागि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्न बनेको ऐन २०७९, जारी गरि दुई वर्षदेखि कार्यान्वयनमा ल्याएको छ ।

माध्यमिक शिक्षा निशुल्क भयो, मेयर थापाले भन्नुभयो,’ ‘तर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी मध्ये गरिब, जेहेन्दार, जनजाती, मधेसी, मुस्लीम, थारु, दलित, सहिद परिवार र खस आर्य छात्र छात्रा लक्षित वर्गका किशोर, किशोरीहरुलाई स्नातक तह सम्मको अध्ययनमा समावेश गर्नुपर्दछ ।’

सोहि विषयमा मेयर र उपमेयर बिच छलफल चल्यो । छलफल पछी हामी दुवैले नगरपालिकाको आर्थिक वर्ष २०८१।८२ को निति तथा कार्यक्रममा मेयर उपमेयर छात्रवृत्ति कार्यक्रमको योजना बनाउदै लागु गर्ने सहमती गरेको मेयर थापाले बताए ।

जनताको सेवा गर्ने हुटहुटी रहेका थापा जिल्लाको पश्चिम क्षेत्रमा राजनैतिक संघर्ष गरिरहेका युवा नेता थिए । सानै उमेरदेखि परिबर्तनको पक्षमा उभिने गरेका थापा शिवराज नगरपालिकामा मेयरमा निर्बाचित भए । नगर प्रमुखको जिम्बेवारी संम्हालेपछी गरिब र विपन्न परिवारलाई कसरी प्रत्यक्ष लाभ पुग्न सक्छ भन्ने सोच उनको हरेक छलफलका एजेण्डा र काम गर्ने कार्यशैलीवाट देखिन्छ।

त्यस्तै शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु स्थानीय तहको पहिलो निर्वाचनमा निर्वाचीत हुँदै शिवराज नगरपालिकाको संस्थापक उपमेयर भइन् । कम उमेरमै सेलिब्रेटी उपमेयरको रुपमा देशमै चर्चा कमाउदै शसक्त महिलाको रुपमा स्थापित भइन् शिव कुमारी । दोस्रो पटकको स्थानीय तहमा समेत पुन निर्वाचित भएपछि नगरबासीको हितसंगै महिला किशोरीका मुद्धालाई प्राथमिकतामा राखेको मानव अधिकारकर्मी विष्णु खतिवडाको भनाई छ ।

लुम्बिनी प्रदेशमै निकै लोक्रप्रिय जनप्रतिनिधीको रुपमा परिचित मेयर उपमेयरले यस वर्षदेखि संचालनमा ल्याउने मेयर उपमेयर कार्यक्रमबाट छात्रवृत्तिका लागि ८ लाख विनियोजन गरिएको छ । उपमेयर थारुका अनुसार नगरपालिकाले विगतका वर्षहरुमा पालिकाले स सानो कार्यक्रम र दिवस मनाउन नगरले लाखौ रकम विनियोजन गरेपनि खासै उपलब्धी नदेखिएकोले यस वर्षदेखि विभिन्न वर्गका विपन्न, गरिब र जेहेन्दार किशोर किशोरीलाई छात्रवृत्ति कार्यक्रमले ठुलो राहत पुग्ने विश्वास लिइएको छ ।

१० जना विद्याधीले उक्त छात्रवृत्ति रकमबाट उज्जवल भविष्य निर्माण गर्न सक्ने भएकोले मेयर उपमेयर कार्यक्रम लागू गरिएकाले गरिब बिपन्न किशोर, किशोरीहरुको स्नातक तह सम्म निशुल्क अध्ययनको सपना पुराहुने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१ शनिबार ००:००  ८ : १४ बजे