२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बाणगंगाका महिला उद्यमी व्यवसायीलाई २ लाख ४० हजार सहयोग



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका २ महिला उद्यमी व्यवसायीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समयदेखि लघु उद्यम व्यवसायमा सफल महिला उद्यमीहरुलाई स्तरोन्नतीका लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले छनौटमा परेका २ उद्यमी व्यवसायीलाई जनही १ लाख २० हजारका दरले २ लाख चालिस हजार रुपैया सहयोग रकमको सम्झौता हस्तान्तरण गर्नुभएको छ ।

नगर प्रमुख अर्यालले नगरभित्र लघु उद्यम व्यवसाय गरिरहेका महिलाहरुलाई उत्साहित गर्न नेपाल विकास अनुसन्धान प्रतिष्ठानसंग सहकार्य गरेर उक्त सहयोग रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले अध्ययन परियोजनालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान काठमाण्डौंले सम्भावित स्तरोन्मुख उद्यमहरुमा नवप्रवर्तन तथा समावेशीताको प्रवर्धन कार्यक्रम अन्तरगत उद्यमहरुको प्रवर्धन गर्ने उद्देश्यले वाणगंगा नगरपालिकाका उद्यमी छनौटमा परेका हुन् । सोही अनुसार वाणगंगा नगरपालिकाका लक्ष्मी सारु मगर, अमृता बुढाथोकी, धनिकुमारी सोमै उद्यमी व्यवसायीको रुपमा छनौटमा परेका हुन् । उनीहरुले ढाकाको उद्योग संचालन गरेर स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्दै आर्थिक उपार्जनका कामहरु अघि बढाएका छन् ।

देशभरका ७ वटा प्रदेशका ३९ वटा पालिकाका ४२ जना उद्यमी व्यवसाय सहयोगका लागि छनौटमा परेको प्रतिष्ठानले जनाएको छ । ती व्यवसायको अध्ययन अनुसन्धान र लेखाजोखा गरी आवश्यकताका आधारमा आर्थिक सहयोग उपलब्ध गराइने छ । प्रतिष्ठानले उक्त सहयोग अध्ययन अनुसन्धानको लागि मात्र गर्ने बताइएको छ । सो अध्ययनका लागि ७ प्रदेशबाट १२ सय उद्यमीहरुको सूचना संकलन गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१ शुक्रबार ००:००  ५ : ४९ बजे