२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

बाणगंगाको शैक्षिक सवालमा सरोकारवालासंग छलफल



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको समग्र शैक्षिक क्षेत्रको विकासको लागि जनप्रतिनिधि र सरोकारवालासंग छलफल भएको छ । नगरपालिकामा सोमबार सम्पन्न परिचयात्मक बैठक तथा शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धी सरोकारवाला निकायसंगको छलफल कार्यक्रममा समावेशी, गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र विद्यालयलाई लक्षित गरी नगरले योजना निर्माण गर्ने निर्णय भएको हो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहजीकरणमा शिक्षा क्षेत्रको विकासका लागि बाणगंगा नगरपालिकासंग सहकार्य गरेर कार्यक्रम अघि बढाइएको हो ।

नगरको शिक्षा योजनालाई कार्यान्वयन गर्दै समय सापेक्ष बनाउँदै भावी योजनाबारे ठोस कार्ययोजना निर्माण गरेर समग्र शैक्षिक सुधार गर्ने योजना रहेको नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताए । हालको अवस्थामा जिल्लामा शिक्षाका हरेक पक्षमा बाणगंगामा अब्बल रहेतापनि केही क्षेत्रमा सोचेजति नै काम गर्न योजनाको समिक्षा गर्दै कार्यन्वयन गरेर जाने बताए ।

शिक्षा क्षेत्रको योजना निर्माणका लागि बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन भएको छ । जसको सदस्यहरुमा पूर्व उपसचिव बाबुराम भट्टराई, बाणगंगा नगरपालिकाको सामाजिक बिकास समितिका संयोजक बिष्णु गिरी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसि, जनता माध्यमिक बिद्यालयका प्राचार्य रमेश पन्थी, योजना शाखा प्रमुख शान्ताराज आचार्य, महिला बालबालिका शाखा प्रमुख शुसिला पन्त लगायत रहेका छन् । यस समितिले आवश्यक सबै तथ्याङ्क संकलन गरेर ड्राफ्ट तयार गरि छलफल र अन्तरक्रियापछि आवश्यक कार्य गर्नेछ ।

कार्यक्रममा बाणगंगा नगरपालिकासहित कपिलवस्तु जिल्ला र लुम्बिनी प्रदेशको शिक्षा क्षेत्रको अवस्थाका बारेमा कालिका स्वावलम्बन सामाजिक केन्द्रकी सुजिता शाक्य र हरिशचन्द्र चौधरीले जानकारी गराएका थिए । सो अवसरमा वडाअध्यक्षहरु, शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१ बिहिबार ००:००  ७ : ५० बजे