डा. अञ्जना देवकोटा ।
घोडताप्रे बहुउपयोगी वनस्पति हो । यो ‘क्लोनल प्लान्ट’ वर्गको एक सामान्य वनस्पति हो । यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका हो । बारी, बगैंचामा भेटिने यो वनस्पति प्राचीनकालदेखि नै औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ । यसको बोटबाट पृथक खालको बास्ना आउँछ ।
यो स्वादहीन, गन्धरहित हुन्छ र पानीको मुहान वा त्यसको छेउछाउमा र दलदले माटोमा बढी फैलिन्छ । यसका पात हरिया, पंखा आकारका हुन्छन् र फूलको रङ भने सेतो, बैजनी वा गुलाबी हुनसक्छ । जसको सानो अण्डाकारको फल लाग्छ । यो झारको पूरै भाग औषधिको रूपमा प्रयोग गरिन्छ ।
उपयोगिता
गाउँघरमा यत्रतत्र उम्रिने यस झारका केही फाइदाहरू थाहा हुँदाहुँदै पनि बेवास्ता गरेको पाइन्छ । यसको सम्पूर्ण भाग औषधिका रुपमा प्रयोग गर्न योग्य हुन्छन् । यसमा एन्टिअक्सिडेन्ट तथा एन्टिमाइक्रोबिएल क्षमता हुन्छ ।
यो सेवन गरेमा मानव शरीरका नसाहरूको संरक्षण गर्ने न्युरोप्रोटेक्टिभ कार्य सक्रिय हुन जान्छ । त्यस कारण, बौद्धिक क्षमता वृद्धिका लागि वरदान साबित भएको यो झारलाई ‘दिमागी खाना’को संज्ञा पनि दिइएको छ । यसमा एन्टिस्ट्रेस फर्मुला हुन्छ, जसले डिप्रेसन जस्तो मनोवैज्ञानिक रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ ।
यसका मुख्य उपयोगी गुणहरूमा जीवाणुरोधी, एन्टिफंगल, एन्टिइनफल्मेटोरी, न्युरोप्रोटेकटिभ, एन्टिअक्सिडेन्ट, घाउ निको पार्ने, युरिक एसिड रिडक्सन, उदासीनता विरोधी, एन्टिडायबेटिक, संज्ञानात्मक विकास र कलेजोको संरक्षण आदि हुन् ।
घोडताप्रेमा पाइने मुख्य तत्त्वहरू
घोडताप्रेको प्राथमिक सक्रिय तत्त्व स्यापोनिन्स हो, जसलाई ट्राइटरपेनोइड्स पनि भनिन्छ । ट्राइटरपिन स्यापोनिन्स र स्यापोजेनिन्सको मुख्य कार्य भनेको घाउ निको पार्नु हो । यसमा रहेका ब्रामोसाइड र ब्रामोनिसाइडले केन्द्रीय स्नायु प्रणालीमा आराम पुर्याउँछ ।
सेन्टेलोसाइड रक्तचापको उपचारमा प्रयोग हुन्छ । घोडताप्रेबाट निकाल्न सकिने अन्य तत्त्वहरू स्टेरोल, ट्यानिन, आवश्यक एसिड, फाइटोस्टेराँल, फल्याभोनोइड्स, म्युसिलेज, रेसिन, एमिनोएसिड, अल्कलोइड्स र फ्याट्टिएसिड हुन् ।
घरेलु उपचारमा प्रयोग
घोडताप्रेलाई गाउँघरमा घरेलु उपचारमा प्रयोग गर्ने गरेको पाइन्छ । रुघाखोकी लाग्दा, ज्वरो आउँदा यसको पातको रस पिउने गरिन्छ । पातको सिरप (रस) अदुवा र मरिचसँग मिसाएर पिउन पनि सकिन्छ ।
यसलाई पिसेर बनाएको धुलो सेवन गर्नाले अल्सर र ग्यास्ट्रिक रोग निको पार्न सकिन्छ । ताजा फूल पिसेर बनाएको लेदो पोलेको घाउमा लगाउँदा निको हुन्छ । शरीरमा हुने दुखाइ हटाउन प्रतिदिन १० मिलिलिटर वा दुई चम्चा जुस बनाएर खान सकिन्छ । छालासम्बन्धी रोग निवारणका लागि पनि लेदो लाभदायक हुन्छ ।
प्रयोग विधि
विभिन्न स्वास्थ्य समस्यामा घोडताप्रेको प्रयोग गर्दा यसको पातलाई सफा गरेर चपाएर, रस निकालेर तथा लेप बनाएर गरिन्छ । यसलाई प्रतिदिन १० मिलि वा दुई चम्चा जुस बनाएर खान सकिन्छ ।
सुकेका पात दुई चिया चम्चा अर्थात् १५० एमएललाई तातो पानीमा १०–१५ मिनेट पकाएर दिनको तीन पटक सेवन गर्न सकिन्छ ।
अपनाउनुपर्ने सावधानी
तोकिएको मात्रामा खुराक खाँदा त्यसमा कुनै पनि विषाक्तता हुँदैन । साइड-इफेक्ट पनि कम नै छ तर बढी मात्रामा लगाएमा छालामा एलर्जी आउने, पोल्ने र खाएमा टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, रिंगाउने, बान्ता हुने जस्ता समस्या देखिन सक्छन् ।
गर्भवती महिलाले अधिक मात्रामा सेवन गरेमा गर्भपातको समस्या पनि देखिन सक्छ । धेरै अनुसन्धान नभएका कारण सुत्केरी र बच्चालाई दूध खुवाउँदै गरेकी आमाले यो सेवन नगरेकै उपयुक्त हुन्छ ।
कसैले लगातार सेवन गर्दा ६ हप्ताभन्दा बढी खानु हुँदैन । खानु नै परेमा दुई हप्ता नखाने र पुनः लगातार ६ हप्तासम्म सेवन गर्न सकिन्छ । यसलाई बिरामीले निद्राको गोलीसँग खानु हुँदैन । कोलेस्टेरोल र हाइपोग्लेसेमियाका बिरामीले पनि ध्यानमा राख्नुपर्छ र डाक्टरको सल्लाह सुझावपछि मात्र खानुपर्छ ।
घोडताप्रे चिकित्सा क्षेत्रमा ठूलो सम्भावना बोकेको जडिबुटी हो तर यस विषयमा अझै धेरै अनुसन्धान नभएका कारण विना जानकारी धेरै प्रयोग गर्दा स्वास्थ्यमा हानि पुग्न सक्छ ।
(डा. देवकोटा वनस्पतिविज्ञ हुन् ।)
प्रतिक्रिया