२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

किन कांग्रेस विरुद्ध एमाले बाणगंगाले विज्ञप्ति नै निकाल्यो ?



कपिलवस्तु ।
केहीँ दिन पहिला नेपाली कांग्रेसका नेताले बाणगंगा नगरपालिका पुगेर गरेको व्यवहार प्रति एमालेले आपत्ति जनाएको छ ।

असार १५ गते कांग्रेस र बाणगंगा नगरपालिका बीच भएको नोकझोकबारे लामो समयपछि एमाले बाणगंगाले विज्ञप्ति निकालेको हो ।

नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरी, नगरपालिकाका मेयरका उम्मेदवार रबी आचार्य, नेता डोलकराम घिमिरे, नगर सभापति विष्णु थापा लगायतको समूह शिक्षा लगायतको विषयमा कुरा गर्न नगरपालिका पुगेको थियो ।

विवादको मुख्य चुरो श्री जनसेवा आधारभूत विद्यालय, बाणगंगा ८, उदयपुर मोर्मीको हो ।

यो विद्यालयमा लामो समयदेखि प्रध्यानाध्यापकको विषयमा विवाद छ ।

तत्कालिन प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले आफू अनिवार्य अवकाश भएपछि निमित्त प्रअको जिम्मेवारी शिक्षक राजेन्द्र खनाललाई दिएका थिए ।

२०८० पुस १५ गतेदेखि लागू हुने गरी खनाललाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद नगरपालिकासम्म पुगेको थियो ।

खनालले निमित्त प्रअ भई कार्य सञ्चालन गरेको केहीँ दिनपछि वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्यालले खनाललाई निमित्त मान्न नसकिने घोषणा गरे । उनले विद्यालयमा कार्यरत शिक्षक भोजराज थारुलाई निमित्तको पत्र थमाए ।

त्यसपछि विद्यालयमा विवाद झनै बढेको हो । विवाद नगरसम्म पुगेपनि समाधान हुन सकेन् । सिंगो नगर थारुको पक्षमा उभिएपछि निमित्तको जिम्मेवारी लिएका खनाल उच्च अदालत बुटवल पुगे।

अदालतले तत्कालै अन्तरिम आदेश सहितको परमादेश जारी गरी राजेन्द्र खनाललाई निमित्त भई काम गर्ने बाटो फुकुवा गरिदियो ।

पछि उच्च अदालत तुल्सिपुर बुटवल इजलासबाट २०८० चैत्र २६ गते न्यायधिश सुभाष पौडेल र पुण्य शिला दावाडी घिमिरेको संयुक्त इजलासको अन्तिम सुनुवाइ आयो । उक्त सुनुवाइ अनुसार विद्यालयको निमित्त प्रअ सम्बन्धमा खनाल र थारु दुबैका रिट खारेज गरी शिक्षा नियमावली अनुसार दरखास्त आह्वान गरी नियमानुसारको स्थायी प्रअ तोक्न आदेश गरेको थियो ।

दुबै निवेदकका रिट खारेज भएपछि विद्यालय प्रअ विहिन भयो । बाणगंगा नगरको नगर शिक्षा समितिले यो बीचमा शिक्षक भोजराज थारुलाई नै निमित्तको जिम्मेवारी वैशाख १८ गते दियो ।

त्यसपछि विवाद बढ्दै गएको हो । अदालतले खनाल र थारु बाहेकका शिक्षकलाई प्रअ तोक्न भनेपनि नगरले पुनः थारुलाई प्रअ बनाएपछि कांग्रेस रुष्ट देखिएको हो ।

कांग्रेसका नेताहरु यहीँ विषय लिएर नगर कार्यकक्षमा पुग्दा दुबै पक्षबीच नोकझोक चलेको थियो ।

यहीँ विषयमा एमाले बाणगंगाले एक विज्ञप्ति निकालेर नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी प्रति नेपाली कांग्रेस बाणंगा नगर समितिले गरेको अपमानजनक व्यवहार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा- ‘यही असार २५ गते बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालय, नगर प्रमुखको कार्य कक्षमा नेपाली कांग्रेस बाणगंगा नगर समितिको नेतृत्वमा भएको अपमानजनक ब्यवहार प्रति नेकपा ९एमाले० नगर कमिटी बाणगंगाको गम्भीर ध्यान आकृष्ट भएको छ । श्री जनसेवा आधारभुत विद्यालय, बाणगंगा ८, उद्यपुर मोर्मीको विषय लगायतका विषयमा ज्ञापन पत्र बुझाउने सन्दर्भमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतका कार्यालयका कर्मचारीहरुमाथि गरिएको अपमानपूर्ण, अशिष्ट ब्यवहार प्रति खेद प्रकट गर्दै यस्ता गतिविधीहरु नदोहोराउन आग्रह गरिएको छ ।’

त्यस्तै विज्ञप्तिमा- ‘अपमानपूर्ण, अशिष्ट व्यवहारले नगरपालिकाको गरिमा माथि धावा बोल्ने कुनै पनि कार्य लोकतान्त्रिक पार्टीका निम्ति सह्य नहुने, त्यो लोकतन्त्रका निम्ति दूर्भाग्यपूर्ण हुने हाम्रो पार्टीको ठहर रहेको उल्लेख छ ।’

एउटा लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ताबाट भएको यस खालको असभ्य, अपमानजनक ब्यवहारबाट समृद्ध नगरको यात्रा र सिंगो नगरबासीको जनचाहना पुरा गर्ने कार्यमा कठिनाई हुने हाम्रो पार्टीको निष्कर्ष रहेको भन्दै सबै खाले समस्याको समाधान विधी, पद्धती, शिष्ट, मर्यादित छलफल, संवादबाट हुने हुदा संयम्तापूर्ण, लोकतान्त्रिक विधि, प्रक्रिया, कानूनी, मूल्य, मान्यताबाट साझा ढंगले समस्याको समाधान खोज्न विज्ञप्ती मार्फत आग्रह गरिएको एमाले बाणगंगा नगर कमिटीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  ४ : २२ बजे