२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सिद्धार्थ राजमार्गको हिउँदे खोलामा पुनः सडक भासियो



पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ । यहाँ दुई वर्षअघि पनि सडक भासिएको थियो ।

तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि निरन्तरको वर्षाले पुनः भासिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

भासिएको सडकमा डाइभर्सन गराए पनि ठूला सवारीसाधनका लागि जोखिम रहेको छ । केही दिनअघि पनि सोही स्थानको तल्लो भागमा वर्षाको भेलले केही भाग भासिएको थियो । यहाँ माथिल्लो भागबाटसमेत पहिरो खसिरहन्छ ।

केही दिनयताको निरन्तरको वर्षापछि सडकको केही भाग भासिएको जानकारी पाएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । सडक भासिएपछि केही समय यातायात पूर्ण रुपमा बन्द गरी डाइभर्सनको काम गरिएको छ । भासिएको स्थानमा डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

भासिएको सडकमा पूर्ण रुपमा डाइभर्सन गराउन केही समय लाग्ने सडक डिभिजनले जनाएको छ । हिउँदे खोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा छ । पछिल्लो समय सिद्धार्थ राजमार्ग भएर अत्यधिक भार बोकेका सवारीसाधन सञ्चालन हुने गर्छ ।

यस क्षेत्रमा नौ वर्षअघि पनि सडक भासिएको थियो । राजमार्गमा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा साना ठूला सवारीसाधन दैनिक ५ हजार ओहोरदोहोर गर्छन् । सिद्धार्थ राजमार्गअवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारीसाधन र यात्रुले सास्ती खेप्नु पर्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  ३ : ०१ बजे