२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

हृदयघातको खतरा छ कि ?



एजेन्सी ।
हृदयघातका कारण विश्वमा वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । कोरोना भाइरसको महामारीपछि युवाहरूमा पनि हृदयघातको जोखिम बढ्दै गएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार पहिलेदेखि नै मुटुसम्बन्धी समस्या भएका, उच्च रक्तचाप वा कोलेस्ट्रोल भएका व्यक्तिलाई हृदयघातको जोखिम बढी हुन्छ । यो आपत्कालीन अवस्था हो । यसमा बिरामीलाई तत्काल चिकित्साको खाँचो पर्छ । हृदयघात अचानक आइपर्छ । यसबाट बच्न रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नु पर्छ भने मुटुको स्वास्थ्यको निरन्तर ख्याल राख्न पनि जरुरी छ ।

हृदयघातको जोखिम छ कि छैन भनेर पहिले नै थाहा पाउने कुनै उपाय छ त रु आफूहरूले घरमै हृदयघातको सम्भावना पत्ता लगाउन नयाँ परीक्षण किट तयार पारेको र यसले पाँच मिनेटमै सम्भावित हृदयघातको जोखिम पत्ता लगाउन सकिने स्विडिस वैज्ञानिकहरूले बताएका छन् । यो परीक्षण निकै सटिक रहेको र यसको मद्दतले प्रत्येक वर्ष लाखौं जीवन बचाउन सकिने उनीहरूको दाबी छ ।

हृदयघात पत्ता लगाउने किट

यो कृत्रिम बौद्धिकतामा आधारित किट (डीआईवाई परीक्षण किट) हो । यसमा प्रश्नावली सेट गरिएको छ । यसले डक्टरले जाँचे जस्तै गरी सटीकताको साथमा हृदयघातको जोखिम भएका व्यक्तिहरूको पहिचान गर्न सक्ने बताइएको छ । अनुसन्धानका अनुसार यी परीक्षणहरूले रगत परीक्षण र रक्तचाप जस्तै सटीकताले हृदयघातको जोखिम पत्ता लगाउन मद्दत गर्न सक्छ ।

अमेरिकन हार्ट एसोसिएशनको जर्नलमा प्रकाशित अध्ययनले ५०–६४ वर्ष उमेर समूहका २५ हजार व्यक्तिहरूको डेटा प्रयोग गरेको थियो । ‘हाम्रो परीक्षणले लगभग दुई तिहाइ मानिसमा सजिलै कोरोनरी एथेरोस्क्लेरोसिस र हृदय रोगको जोखिम पहिचान गर्न मद्दत मिल्यो,’ गोथेनबर्ग विश्वविद्यालयका प्राध्यापक गोरान बर्गस्ट्रोम भने ।

डीआईवाई परीक्षणबाट लगाउन सकिन्छ पत्ता

प्रायःजसो हृदयघात अचानक हुन्छ । हृदयाघात भएका धेरै व्यक्तिहरू स्वस्थ र लक्षणबिहीन पनि हुन्छन् । तर परीक्षणमा उनीहरूको कोरोनरी धमनीमा बोसो जमेर बसेको देखाउँछ । यसलाई एथेरोस्क्लेरोसिस भनिन्छ । यो परीक्षणलाई डीआईवाई नाम दिइएको छ । यसमा परीक्षणकर्ताको उमेर, लिङ्ग, तौल, पेटको बोसो, धुम्रपानको बानी, रक्तचापको स्तर, पारिवारमा कसैलाई हृदय रोग भएको इतिहास, ब्लड फ्याट र चिनीको मात्रासँग सम्बन्धित १४ प्रश्नहरू समावेश गरिएका छन् ।

एआईमा आधारित एल्गोरिदमको प्रयोग

यो परीक्षण एआई–आधारित एल्गोरिदम प्रतिक्रियामा आधारित छ । यसले सबै प्रश्नहरूको जवाफको मूल्याङ्कन गरेर उच्च जोखिम भएका व्यक्तिमा हृदयघातको जोखिम पत्ता लगाउन सक्छ । यी परीक्षण किटहरू मानिसहरूलाई व्यापक रूपमा उपलब्ध गराउन सकियो हृदयघातको जोखिममा परेकाहरूलाई पहिचान गर्न र उनीहरूको जीवन बचाउन मद्दत मिल्ने विशेषज्ञहरूले बताएका छन् । आफूहरूले छिट्टै अमेरिकामा पनि यो परीक्षणले विभिन्न समूहमा कसरी काम गर्छ भन्ने प्रयोग गर्न लागेको प्रोफेसर बर्गस्ट्रोमले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  ११ : २६ बजे