२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

सिकेका ज्ञान सिपलाई जीवन र समुदायको हितमा लगाऔं : नगर प्रमुख अर्याल



बुटवल ।
संवाद सहजकर्ताहरुका लागि संवाद सहजीकरण सम्बन्धी ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा आइतबार सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा संचालित उत्थानशील समुदाय विकासको लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण (विलिफ) कार्यक्रम अन्तरगत वाणगंगा नगरपालिका वडा न. ७, ८ र ९ का किशोर किशोरीहरुको तालिममा सहभागीता रहेको थियो ।

तालिमको समापन गर्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले तालिमले किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । विगतमा संवादका सहजकर्ताको भूमिका समुदायमा प्रभावकारी देखिएकाले समाजलाई सही बाटोमा अघि बढाउन ठुलो सहयोग पुग्ने बताउनुभयो । तालिम पाएका किशोर किशोरीलाई महत्वपूर्ण अवसरका रुपमा लिनुपर्ने बताउदै अर्यालले भन्नुभयो– ‘सिकेको ज्ञान र सिपलाई जीवन र समुदायको हितमा लगाउनु पर्दछ ।’

‘समाजका यावत समस्या समाधान गर्न सवै जिम्मेवार हुनुपर्दछ, उहाँले भन्नुभयो,’ ‘नगरपालिकालाई समृद्ध बनाउने दायित्व सवैको हो, तसर्थ यो अवसरलाई हामीले समाज निर्माणमा लगाउदै असल नागरिक र व्यक्तित्व विकासमा लगाउनु पर्दछ ।’

नगरपालिकामा व्याप्त लागु औषधको समस्या समाधानमा युवायुवती अझ सचेत भएर लाग्नुपर्ने बताउनुभयो । नगरको विकासमा संस्थाको सहकार्यले धेरै टेवा पुरयाएको बताउदै प्रमुख अर्यालले योजनाबद्ध तरिकाले काम गर्ने साथै पारिवारिक विकास र खुशीमा पनि परिवर्तन आएको बताउनुभयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम समन्वय प्रमुख तेज प्रसाद आचार्यले तालिम समापन नभई शुरुवात भएको बताउदै समुदायमा परिवर्तन ल्याउन किशोरकिशोरीको भूमिका अहम हुने बताउनुभयो । उहाँले स्थानीय स्तरमा संस्थाले रोजगारीका अवसरहरु सिर्जना गरेकाले समाज रुपान्तरणमा नगरपालिकासंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो।

प्रमुख प्रशिक्षक प्रकाश घिमिरेले समुदायमा काम गर्ने प्रतिवद्धता सहित सम्वाद कक्षा प्रभावकारी बनाउन सवैले भूमिका खेल्नुपर्ने बताउदै नगरपालिकालाई उज्यालो बनाउने अभियानमा सवैले साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यक्रम प्रबन्धक आरटी खानले वाणगंगा नगरपालिकाको वडा न. ७, ८ र ९ मा संचालन हुने ४० वटा सम्वाद केन्द्रका लागि छनौट भएका सहजकर्ताहरुलाई ६ दिने तालिम संचालन गरिएको बताउनुभयो । अर्को चरणमा रिफ्रेशर तालिम संचालन हुने बताइएको छ ।

जीवन उपयोगी सिप, जीवन बृत्ति विकास योजना, पारिवारिक योजना, सचेतीकरण, सवालको पहिचान, पैरवी, कार्ययोजना निर्माण, किशोर किशोरीको सशक्तिकरण लगाएतका विषयमा सहजीकरण गरिएको थियो । तालिम सहजीकरण विलिफ कार्यक्रमका कार्यक्रम निर्देशक प्रकाश घिमिरे, कार्यक्रम प्रबन्धक आरटी खान, थिम लिडर सिता थारु र आबा मल्लले सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१ आइतबार ००:००  ९ : ३५ बजे