२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

कपिलवस्तु बाणगंगाका एक युवाको हत्या



कपिलवस्तु ।
रोल्पामा कपिलवस्तुका एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ ।

कपिलवस्तुको वाणगं‌गा नगरपालिका वडा नम्बर २ घर भई रोल्पा नगरपालिका ४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २९ वर्षीय शनी भनिने सुनिल पुनको हत्या भएको हो।

उनको जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार राति ९ बजेतिर मृत्यु भएको हो।

शनीको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

उनको हत्या आरोपमा प्रहरीले रोल्पा ९ बस्ने २८ वर्षीय मदन रोका मगरसहित ८ जना पक्राउ परेका हुन्। पक्राउ परेका अन्य सात जनाको नाम गोप्य राखिएको छ।

यस घटनामा दुई जना घाइते समेत छन्। रोल्पा-४ खाद्यटोल बस्ने १६ वर्षीय अनिल पुन मगर र अटो वर्कशव संचालक ३३ वर्षीय कृष्णबहादुर अधिकारी पनि घाइते छन्।

अधिकारीको बायाँ हातको बुढी औंलामा र पुन मगरको ओठ र टाउकोमा चोट छ। उनीहरू दुबै जनाको अवस्था सामान्य छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार घटनामा संलग्न सबै जना आपसमा मिल्ने साथीहरू थिए। उनीहरू एक-अर्काको घरमा आउजाउ गर्ने तथा बास बस्नेसम्म गर्ने गर्थे।

शनिबार राति मृतक शनिले मदिरा सेवन गरेका थिए। साथीहरूसँग बसिरहेका उनले गालीगलौज गर्न थालेको आरोप छ।

जसपछि आवेगमा आएका साथीहरूले नै चक्कु प्रहार गरेको डिएसपी लामाले बताए।

‘मृतकले मदिरा सेवन पछि साथीहरूलाई तथानाम गाली गलोज गरेपछि झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्छ,’ डिएसपी लामाले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

प्रकाशित मिति : ६ श्रावण २०८१ आइतबार ००:००  ३ : १० बजे