२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सुकुम्बासीको पक्षमा उभियो बुद्धभूमि, भन्योः ‘४० औं बर्ष देखिको वस्तिमा डोजर चलाइयो



मायादेवी अनलाइन, बुद्धभूमि ।
बर्खायाममा अमानवीय शैली प्रयोग गरी सुकुम्बासीवस्तिमाथि डोजर चलाउने कार्यको बुद्धभूमि नगरपालिकाले घोर भर्सना गरेको छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुले बुधबार नगरको वडा नं. २ को वकडरिया गाउँमा डोजर प्रयोग गरी सुकुम्बासीवस्ति सखाप पारेको थियो ।

उक्त कदमको चारैतिरबाट चौतर्फी विरोध भइरहेको बेला बुद्धभूमि नगरपालिकाले एक विज्ञप्ति निकालेर आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

डिभिजन वन कार्यालय कपिलवस्तुबाट सुकुम्बासीवस्तिमा ज्यादति भएपनि बुद्धभूमि नगरपालिका नागरिकको पक्षमा उभिएको छ ।

नगर प्रवक्ता तेज बहादुर बस्नेत र वडा नं. २ का वडाध्यक्ष सुरजप्रताप राणाद्धारा हस्ताक्षरित विज्ञप्तिमा ४० औँ बर्षदेखि बसोबास गरी खनजोत, भोगचलन गर्दै आईरहेको बस्तिमा यही मिति २०८१ साउन २ गते डिभिजन वन कार्यालय कपिलवस्तुले घरटहरा, गोठहरुमा निर्मम तबरले डोजर चलाई संरचना भत्काएको र खेतीबाली समेतमा ट्याक्टर लगाई हानी नोक्सानी गरेको हुँदा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञिप्तमा थप भनिएको छ,’ ‘-यस्तो बर्षातको समयमा मानव वस्तीहरु संरक्षण गर्ने राज्यको कर्तव्य, दायित्व रहेकोमा राज्यकै निकायबाट अमानवीय तरिकाबाट घरबारविहिन गराएको उक्त कार्यको नगरपालिका घोर भर्सना र खेद व्यक्त गर्दछ ।’

साथै नगरपालिकाले अगाडि बढेको छ’, ‘यस्ता प्रकृतिका जग्गाहरु जोतभोग बसोबास गरी आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरी विकल्पसहित समस्या समाधान गर्नका लागि नेपाल सरकारबाट भूमि सम्बन्धी आयोग गठन गरी सोही आयोगको गठन आदेश अनुसार यस नगरपालिकाले पनि आफ्नो कार्य अगाडि बढाएको व्यवहोरा सर्वविदितै भएको विज्ञप्ति मार्फत जनाएको छ ।’

सोही बमोजिम लगत संकलन गरी अस्थायी दर्ता निस्सा समेथ वितरण गरिएको विद्यमान अवस्थामा नगरपालिकासँग कुनै परामर्श, जानकारी, समन्वय विना डिभिजन वन कार्यालयबाट उक्त कार्यभएको स्पष्ट पार्दै नगरको यस विषयमा गम्भीर ध्यानाकर्षण भएको पुनः दोर्‍याएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१ आइतबार ००:००  १० : २७ बजे