२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

कपिलवस्तु वनका कर्मचारी सवार गाडी मध्यरातमा दुर्घटना, विहानमात्र प्रहरीलाई खबर



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुस्थित तिलौराकोट साझेदारी वनको (स्कारर्पियो) सवारी दुर्घटनाको विषय रहस्यमय बन्दै गएको छ ।

गत असार २९ गते मध्यरातमा ०२५ च ००४९ नम्बरको स्कारर्पियो कपिलवस्तु नगरपालिका वडा नं. ६ बर्मेलीको एक कल्भर्टमा ठोक्किएको थियो ।

उक्त स्कार्पियोमा डिभिजन वन कार्यालयका कर्मचारी सवार रहेको स्रोतको दाबी छ । स्रोतको दाबी अनुसार मध्यरातमा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । स्कारर्पियो दुर्घटनामा परेको थाहा पाएपछि दुर्घटनास्थलमा वरपरका गाउँले आइपुगेका थिए ।

प्रत्यक्षदर्शीको भनाई अनुसार स्कारर्पियोमा सवार सबै जनाले मदिरा सेवन गरेका थिए । ती प्रत्यक्षदर्शीले बताए अनुसार गाडीमा वन कार्यालयका विशिष्ट व्यक्ति थिए । उनले व्यक्ति को थिए चिनेपनि डरको कारण व्यक्तिको नाम बताउँन चाहेनन् ।

स्रोतका अनुसार उक्त गाडी कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९ को एक वनका अध्यक्षसहित रात्रीकालिन बसाई सकेर तौलिहवा फर्कदै थियो । तौलिहवा वनका कर्मचारी पुर्‍याउने क्रममा गाडी दुर्घटनामा परेको स्रोतले बतायो ।

तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेयले आफूहरु चढ्ने गाडी दुर्घटनामा परेको स्विकार गरे ।

‘गाडी एक कल्भर्टमा ठोक्किएको हो । समय चाहीँ रातको ९/१० बजेको बीचमा हो, उनले भने’, ‘म छोरीको विहेको कारण तीन दिन विदामा थिए । अरु विषयबारे जानकारी छैन् ।’

उनले वन हेरालुलाई सम्बन्धित क्षेत्र पुर्‍याएर फर्कने बेला गाडी दुर्घटनामा परेको बताए ।

उनले यसो बताएपनि यो गाडीमा वन कर्मचारी र वनका पदाधिकारी बाहेक अरु चढ्नु ‘आकाशको फल, आखाँतरी मर्’ जत्तिकै असम्भव कुरा हो ।

त्यही पनि त्यसदिन अत्याधिक बर्षा भएको कारण वन हेरालु सम्बन्धित ठाउँ गए होलान् भन्ने विश्वास गर्न सकिदैँन् । अर्को कुरा दुर्घटना भएको स्थान र वन क्षेत्रसँगको साइनो नै मिल्दैन् ।

‘आगलागीको उच्चतम विन्दुमा समेत प्रभावकारी काम हुन नसकेको यो साझेदारी वनमा यो बर्षातको बेला वन हेरालुलाई गाडीको सहायताले नै कर्मचारी खटनपटन गरेहोला भन्ने विश्वास गर्न सकिदैँन्’, स्थानीय भन्छन् ।

साझेदारी वनका अध्यक्ष पाण्डेयले गाडी रातको ९/१० बजेको समयमा दुर्घटना भएको बताएपनि वडा प्रहरी कार्यालय तौलिहवालाई भने विहान मात्र जानकारी पुगेको थियो । जुनसुकै दुर्घटना हुँदा वित्तिकै नजिकैको प्रहरीलाई खबर गरिन्छ । तर यहाँ विहान मात्र जानकारी दिनु अर्को रहस्य देखिन्छ ।

कि त मध्यपानले लठ्ठिएको कारण त्यसै रात प्रहरीलाई जानकारी दिइएन्, या त प्रहरीलाई जतिबेला भने पनि मिलाउन सकिन्छ भनेर सोचियो, घटनाले यस्तै तथ्य माग्छ ।

गाडी दुर्घटनाको प्रकृति हेर्दा अगाडीको भागमा क्षति पुगेको छ । वडा प्रहरी कार्यालय तौलिहवाका वरिष्ठ प्रहरी नायव निरिक्षक ज्ञान प्रसाद ज्ञवालीका अनुसार विहानपख प्रहरी घटनास्थल पुगेको हो । क्रेनको सहायताले गाडीलाई मर्मतका लागि अन्यत्र लगिएको जनाइएको छ ।

घटनालाई मिलाउनका लागि अर्को दिन वनका कर्मचारी दौडधुपमा लागि परेको स्रोत बताउँछ । स्रोत भन्छ, ‘वनका ठूलै व्यक्ति गाडीमा सवार रहेछन्, गाडी मध्यरातमा दुर्घटनामा परिहाल्यो, मिलाउँन त पर्‍यो ।’

गाडी मर्मत गर्दा लाग्ने खर्च इन्स्यौरेन्सबाट भुक्तानी गर्नका लागि विहान मात्र प्रहरीलाई खबर गरिएको स्रोतको दाबी छ । दुर्घटनाबाट मानवीय क्षति भने नभएको अध्यक्ष पाण्डेयले मायादेवीलाई बताए । यो स्कारर्पियो दुर्घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गर्न जरुरी छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१ शनिबार ००:००  १२ : १४ बजे