२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

तौलिहवा विद्युत कार्यालयले कमिशनको चक्करमा कोहलपुरबाट फर्निचर मगायो



कपिलवस्तु ।
इमान्दार र कर्तव्यनिष्ठ बताउने विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र प्रमुख गौरव पाण्डे शंकास्पद आर्थिक कारोबारमा मुछिएका छन् ।

आफूलाई तत्कालिन उर्जा मन्त्री शक्ति बहादुर बस्नेतको खास मान्छे दाबी गर्ने आठौँ तहका इन्जिनियर पाण्डे कार्यालयको फर्निचर खरिद, कार्यालय मर्मत संभार तथा बुशकटिङ्ग भुक्तानीमा मिलेमतो भएको देखिन्छ ।

विद्युत आपूर्तीमा चरम लापरवाही गर्ने देखि पदको दुरुपयोगको आरोप लागिरहेको बेला आर्थिक अनियमिततामा समेत पाण्डे मुछिएको विद्युत श्रोत बताउँछ । बाहिरी आवरणमा इमान्दार देखिने पाण्डे सेवाग्राहीसंग कुनै रकम नलिएपनि सेवामा भने चरम लापरवाही गर्ने गरेका छन् । उनले कार्यालय भित्रको बजेटमा भने राम्रै तर मार्ने गरेको श्रोतको दाबी छ ।

कोहलपुरबाट फर्निचर खरिदः

स्थायी घर कोहलपुर भएका तौलिहवा वितरण केन्द्रका हाकिम गौरब पाण्डेले कार्यालयका लागि आवश्यक पर्ने फर्निचरहरु कोहलपुरबाटै खरिद गरेका छन् । उनले आव ०८१/०८२ को बजेट बाट ३ लाख भुक्तानी दिने र आव ०८१/०८२ बाट २ लाख दिने गरी करिब ५ लाखको फर्निचर खरिद गरेको श्रोतको दाबी छ । उक्त फर्निचरहरु हाल प्रयोगै नगरी कार्यालय परिसरको नयाँ भवन भित्र राखिएको छ ।

इन्जिनियर पाण्डेले कोहलपुरका फर्निचर व्यवसायीसंग आर्थिक कमिशन लिई उक्त सामान खरिद गरेको आरोप छ । कोहलपुरस्थित कोहलपुरको आदेश फर्निचर, स्वर्गद्धारी फर्निचर तथा एचएस सप्लायर्सबाट उनले कार्यालय प्रयोजन भन्दै सामाग्री खरिद गरेको हुन् । जस मध्ये ३ लाख रकम भुक्तानी भइसकेको छ भने अन्य बाँकी छ । तौलिहवा सदरमुकाम तथा जिल्लाभरी नै दर्जनौ फर्निचर सप्लायर्स हुँदा हुँदै कोटेशन समेत नलई २०७ किमि टाढा गई बजार दररेट भन्दा महंगोमा सामान खरिद गरिनुले अनियमितता पुष्टि हुने प्रयाप्त आधार देखिन्छ ।

टेन्डर गर्ने काम सबै कोटेशनमाः

विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रको नयाँ भवन निर्माणकै क्रममा ठेकेदारले ठेक्का तोडेपछि बाँकी रहेका कार्यहरु सम्पन्न गर्न पुनः ठेक्का गर्नुपर्नेमा इन्जिनियर पाण्डेले स्थानीय एक ठेकेदारलाई कोटेशनमै काम गराइरहेका छन् । स्थानीय बुद्धिराम गोसाईलाई १ लाख भित्र पर्ने गरि गत आवमै ५ वटा कोटेशनमा काम गराइसकेका छन् ।

आवश्यकै नभएको पर्खाल मर्मत भन्दै उनले २ लाखको काम गराएका थिए । गोसाईको रबी निर्माण सेवा तथा गोसाइकै अन्य फर्मलाई नयाँ भवनको अधुरा कार्य भन्दै ३ लाख बढिको काम गराएका छन् भने केहि काम चालु आवको बजेट बाट कोटेशनमै दिने योजना रहेको बताइन्छ ।

कोटेशनको कामबाट ३० प्रतिशत हाकिमलाई दिनुपर्ने र ७० प्रतिशतमा काम गर्ने र बचाउदा खासै नाफा नभएको ठेकेदार गोसाइले केहि कर्मचारीसंग गुनासो समेत गरेका थिए ।

घर भन्दा पर्खाल प्राथमिकतामा
कार्यालय प्रमुख बस्ने निवास जीर्ण भएको र मर्मत गर्नुपर्ने भन्दै कार्यालय देखि १५ किमी टाढा ओदारीमा मासिक १५ हजार भाडामा फ्ल्याट लिएर बसेका इन्जिनियर पाण्डेले मर्मत संभार रकमले घर मर्मत गर्नु भन्दा पर्खाल मर्मत गरेका छन् । उनले सामान्य मर्मत गरेर बस्न मिल्ने घर छाडेर २ लाख रकमले पर्खाल मर्मत गरेका छन् भने मासिक १५ हजार भाडा तिरेर ओदारीमै बसेका छन् । राज्यकोषको १५ हजार मात्र होइन दैनिक ३० किमी आउजाउ गर्दा लाग्ने इन्धन समेत दुरुपयोग गरेको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१ शुक्रबार ००:००  ९ : १७ बजे