८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वन कार्यालय कपिलवस्तुको ज्यादती जारी, बुड्ढीको थारु गाउँमा रोपेको धान उखेलेर फालियो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुमा किसानले दुखजिलो गरी लगाएको धान गोडेर वृक्षारोपण गर्ने काम गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ बुड्ढीको मुराहटोलको एक थारु गाउँमा किसानले लगाएको धान गोडेर वृक्षारोपण गरिएको हो ।

वन क्षेत्रमा धान लगाइएको भन्दै डिभिजन वन कार्यालय कपिलवस्तु र त्यहाँको सामुदायिक वनले धान गोडेर फालेको हो ।

धान गोड्नका लागि दर्जनौँ व्यक्ति परिचालन गरिएको थियो । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुखसमेत रहेका विजयराज सुवेदीको नेतृत्वमा विहीबार यो काम भएको हो । आफ्ना सुरक्षादस्तासहित दर्जनौँको संख्यामा उपस्थित सुवेदीले किसानले लगाएको धान उखेल्न लगाएर उक्त क्षेत्रमा तारवार गराएका छन् । तारवार गरेसँगै वृक्षारोपण गरिएको सुवेदीले जनाए ।

बुधबार मात्र बुद्धभूमि नगरपालिका वडा नं. २ बक्डरिया गाउँमा डोजर लगाई वस्ति भत्काएका सुवेदीले विहीबार नगरको वडा नं. ६ महुवा र वडा नं. ४ बुड्ढीमा वन अतिक्रमित क्षेत्र भन्दै वृक्षारोपण गरेका हुन् ।

लामो समय भोगजोत गर्दै आएको जग्गामा वन कार्यालयले हमला गरेपछि सर्वसाधारणमा सन्नाटा छाएको छ ।

वन कार्यालयले वृक्षारोपण गरेको वडा नं. ४ को यो स्थानमा स्थानीयले विं.स. २०२६ सालदेखि भोगजोत गर्दै आएका थिए ।

स्थानीय गोरखनाथ थारुले विं.स. २०२६ सालदेखि भोगजोत गर्दै आएको ठाउँमा वनले तारवार गरेको गुनासो गरे ।

मध्य असारमा रोपेको धान आँखै अगाडि उखेलेको देख्दा थारु मर्माहत देखिन्थे । सुरक्षादस्तासहित उपस्थित विजयराज सुवेदी सामु थारु बोल्न सक्दैन्थेँ । यदी थारु केहीँ बोलिहाले समातेर थुन्ने र वन मुद्धा लगाउने तयारीमा उनी थिए ।

कानूनको धारा पढाएर गाउँलेलाई डर देखाएका सुवेदीले मायादेवीकर्मीले केहीँ प्रश्न गर्दा उल्टै प्रतिकारमा उत्रिए । उनको सुरक्षार्थ खटिएका वन रक्षकले मायादेवीकर्मीलाई बढी नबोल्न चेतावनी दिदैँ जे पनि हुने भन्दै थर्काए ।

घटनास्थल नेकपा (एमाले) कपिलवस्तुका नेता देवी बेल्वासे समेत पुगेका थिए । नेता बेल्वासेले बर्खायाममा नागरिकको वस्तिमा डोजर लगाउने, लगाएको धान उखेल्ने कार्यको विरोध गरेका थिए । वन कार्यालयका प्रमुख सुवेदीसँग लामै समय बेल्वासेको यस विषयमा कुराकानी भएको थियो ।

वडा नं. ४ बुड्ढी वरपरको झण्डै १२ विगाह क्षेत्रफलमा अतिक्रमण हटाई वृक्षारोपण गरिएको सुवेदीले बताए ।

बर्खायाममा वन कार्यालयले गरेको कार्यको चौतर्फी विरोध
बुधबार वडा नं. २ को बक्डरिया गाउँमा चलाइएको डोजर प्रति चौतर्फी विरोध भएको छ । विहीबार मात्र विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै यसको प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

सामाजिक सञ्जालमा पनि उक्त कार्यको विरोध भइरहेको छ । बर्खायाम भन्दा अगाडि, पछाडि सहमतिको आधारमा काम गर्न सकिने भन्दै कतिपयले धारणा राखेका छन् ।

दलबलसहित आउँछन्, कोहीँ बोल्न वित्तिकै समातेर लैजान्छन्
वन कार्यालयमा लामो समय नेतृत्व गरेका सुवेदीले अतिक्रमण हटाउने नाममा नागरिकलाई ज्यादती मात्र गरेका छैनन्, यसको विरोधमा बोल्नेमाथि जाईलाग्ने गरेका छन् । गतबर्ष मात्र बाणगंगा नगरपालिका वडा नं. १० पटनामा वडाध्यक्षलाई समातेर थुनिएको थियो ।

वडाध्यक्ष यमप्रसाद पोख्रेल वडाबासीको पक्षमा बोल्दा उनलाई समातेर हिरासतमा लिइएको थियो ।

बुधबार बक्डरियोमा पनि आफ्नो घर डोजरले भत्काउँदा विरोध गरेको भन्दै एकजनालाई नियन्त्रणमा लिएर लगिएको थियो ।

विहीबार सञ्चारकर्मीले यस विषयमा केहीँ प्रश्न राख्दा जे पनि हुने भन्दै चेतावनी भाषा प्रयोग गरिएको थियो ।

लोकतन्त्रमा नागरिकले आफ्ना मत राख्नु स्वभाविक भएपनि वन कार्यालयका प्रमुख सुवेदी तानशाही प्रवृत्तिमा उत्रने गरेका छन् ।

सुवेदी वनका विषयमा पटकपटक विवादित पात्र हुन् । उनका यस अगाडि गरेका थुप्रैकाण्ड मिडियामा आइसकेका छन् ।

तत्कालिन सार्वजनिक लेखा समिति अन्तर्गतको सांसद प्रदीप यादव नेतृत्वको उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख कटान र काठ तस्करीमा संलग्न वन कर्मचारी र वन समूह पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेकोमा सुवेदीको समेत नाम मुछिएको थियो । जिल्लामा हुँदा उनका आधा दर्जनकाण्ड घटेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१ बिहिबार ००:००  ८ : २७ बजे