२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

पोखरी निर्माण गरी डुंगा चलाउदै कोईलीचौर सामुदायिक वन



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न.९ भर्तापुर स्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले आफनो बनक्षेत्रमा पोखरी निर्माण गरी पर्यटन प्रवर्धनमा टेवा दिएको छ । बन समूहको अतिक्रमित जग्गा संरक्षण गर्दै निर्माण गरिएको कोईली पोखरीमा डुंगा संचालन गरेर पर्यटन प्रवर्धनलाई अघि बढाएको हो ।

डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदी र वडा अध्यक्ष कमल पौडेलले डुंगामा सवार गरी शुभारम्भ गर्नुभएको हो । बनक्षेत्रमा पोखरी निर्माण गरी आजदेखि संचालनमा ल्याइएको डुंगा बैदेशिक रोजगारमा गएका तारा बहादुर बुढाथोकी र बिष्णु नेपालले कोईलीचौर साना किसान सामुदायिक वनलाई सहयोग प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला वन अधिकृत सुवेदीले वन अतिक्रमण नियन्त्रण र वन डढेलो रोकथाम जस्ता कार्यमा टेवा पुग्ने बताउनुभयो । उहाले वन व्यवस्थापनको क्रियाकलाप अन्तर्गत सिमसार क्षेत्रपनि रहेको र वन्यजन्तुको वासस्थान समेत भएकोले बनक्षेत्रमा पोखरी निर्माण कार्य प्रभावकारी हुने बताउदै वनको पर्यावरणिय वातावरणमा पनि संरक्षण हुने कुरामा जोड दिनुभयो ।

वडाध्यक्ष कमल पौडेलले सामुदायिक बनको यस प्रकारको नमुना कार्यको सराहना गर्दै पर्यटन प्रर्वद्धनको बिकास संगै स्थानिय वन उपभोक्ताको आयआर्जन र जिविकोपार्जनमा पनि टेवा पुग्ने वताउनुभयो । समूहका अध्यक्ष कुन्तामणि भुसालले सामुदायिक वनको २४औं वार्षिक साधारण सभाबाट डुंगा सञ्चालन, पिकनिक स्थल र रमणीय पार्क निर्माण गर्ने योजना पारित गरी काम अघि बढेकाले सोही अनुसार गरिने वताउनुभयो ।

पोखरी निर्माणका लागि वार्षिक साधारण सभाबाट १० लाख बिनियोजन भई कार्य गरेको समूहकी कोषाध्यक्ष माधुरी सेनले जानकारी दिनुभयो । कोईलीचौर साना किसान सामुदायिक वनमा भर्तापुर र भर्लावासका गरी ४ सय ८० वन उपभोक्ता रहेको उक्त सामुदायिक वन २ सय ८० हेक्टर क्षेत्रफलमा रहेको समूहकी सचिव शुष्मा क्षेत्रीले बताउनुभयो । सामुदायिक वनका पूर्व सचिव दिपक कुँवरले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।

कोईलीचौर साना किसान सामुदायिक वन आर्थिक वर्ष २०८०/८१ मा डिभिजन वन कार्यालय कपिलवस्तु अन्तर्गत सब डिभिजन वन कार्यालय गोरुसिगेका कुल १७ सामुदायिक वन मध्येमा वनको संरक्षण, सम्वद्र्धन र वन बिकासमा उत्कृष्ट भई पुरस्कृत समेत भएको सामुदायिक बन हो ।

प्रकाशित मिति : २ श्रावण २०८१ बुधबार ००:००  ९ : ०७ बजे